काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले अन्य मुलुकमा कहिल्यै विचार निर्यात नगर्ने बताएकी छन्।
चीन अध्ययन केन्द्र नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा उनले भनिन्, ‘चीन आफ्नो विचार निर्यात गर्ने मुलुक होइन। हामीले पहिले पनि अन्य मुलुकमा आफ्नो विचार निर्यात गर्दैनथ्यौं, आगामी दिनमा पनि गर्दैनौं ।’
दुई देशका सत्तारुढ कम्युनिष्ट पार्टीको सहकार्यमा चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारसम्बन्धी भएको कार्यक्रमपछि मिडियामा भइरहेको बहसपछि उनको यस्तो प्रतिक्रिया आएको हो।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) बीच गत ६ र ७ असोजमा राजधानीमा राष्ट्रपति सी विचारसम्बन्धी छलफल भएको थियो। छलफलको संयोजन नेकपाको स्कुल विभागले गरेको थियो।
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख प्रमुख सोङ ताओलाई आमन्त्रण गरेर भएको उक्त छलफलप्रति आपत्ति जनाउँदै प्रक्रियाहरु व्यक्त भइरहेको छन्।
चीन आफ्नो विचार निर्यात गर्ने मुलुक नभएको बताएकी राजदूत यान्छीले राष्ट्रपति सीको विचार अन्तर्राष्ट्रियकरण भइसकेको भने बताइन्। ‘राष्ट्रपति सीको विचारले विकासोन्मुख मुलुकका लागि नयाँ धारणा र विचार दिन्छ,’ उनले भनिन्।
‘सी चिनफिङको विचार : मानव जातिको भविष्यका लागि एक साझा समुदायको निर्माण’ विषयमा चीन अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल समेत सहभागी थिए।
नेकपाको स्कुल विभाग प्रमुख समेत रहेका पोखरेलले पनि सीको विचार अन्तर्राष्ट्रियकरण भइसकेको उल्लेख गर्दै यसले सबै मानव जातिलाई समेट्न सफल भएको बताए। ‘सीको पृथ्वी हाम्रो घर हो, हामी सबै मिलेर यसको संरक्षण गर्नुपर्छ र आउने पिँढीका लागि पनि यसको आवश्यक पर्छ भन्ने धारणालाई सबैले स्वीकार गरेका छन्,’ पोखरेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।