काठमाडौं- बुधबारबाट एमबी क्रियशन युट्युव च्यानलमार्फत् सर्ट फिल्म ‘डर’ सार्वजनिक भयो। कलाकार जीवन बराल अभिनित यस फिल्मलाई गम्भीर बिष्टले निर्देशन गरेका छन्। यो हरर मुभी हो।
१७ मिनेट २१ सेकेण्डको फिल्ममा ‘वनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ’ भन्ने नेपाली समाजको उखान चरितार्थ पाइन्छ। फिल्मको मुख्य पात्र संगीतकारको भूमिकामा हुन्छन्। जब उनी पुस्तकमा त्रास जगाउने खालका कथा( भूतका कथा) पढ्दै गर्छन्। उनको मनमा एक किसिमको त्रास उत्पन्न हुन्छ।
स–साना कुराले पनि उनीभित्र डर सिर्जना हुन थाल्छ। सामान्य अवस्थामा देखिएको कुरामा पनि डरलाग्दा आकृति देख्न थाल्छन्। दृष्टिभ्रम भएजस्तो हुन्छ।
उक्त पात्रमा उत्पन्न भएको मनोवैज्ञानिक त्रास र मानसिक विचलनलाई फिल्म अवधिभर देखाउन खोजिएको छ।
नेपालमा हरर फिल्म निकै कम मात्रामा मात्र निर्माण हुन्छन्। बनेका फिल्महरूले पनि थुप्रै चुनौति खेप्नुपर्छ। यद्यपि, फिल्म हेरेर डरको अनुभूति गर्नु पनि एक किसिमको आनन्दापन हो। छाटो अवधिको ‘डर’ फिल्ममा दर्शकले त्यो अनभूति सजिलै गर्न सक्छन्।
कलाकार बराल थिएटर आर्टिस्ट र प्रशिक्षक समेत हुन्। फिल्ममा उनी लगायत जीविका कार्की र सीमा ढकालको अभिनय छ। फिल्मको स्क्रिप्ट, कथा तथा कन्सेप्ट मनिष वशिष्ठको हो। फिल्मको गीतमा आवाज तथा म्युजिक सुशान्त गौतमले दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।