काठमाडौं- छायाँछवि क्रियशनले आयोजना गरेको चौंथो काठमाण्डू सर्ट फिल्म फेस्टा सम्पन्न भएको छ। यस फेस्टामा फिक्सनतर्फ शुभाष गजुरेल निर्देशित लघु चलचित्र 'मधुमलतीको कथा' उत्कृष्ट भएको छ।
डकुमेन्ट्रीतर्फ भने दयाराम घिमिरे निर्देशित ‘जोगी’ उत्कृष्ट भएको छ। मधुमालतीको कथा प्रसिद्ध साहित्यकार रमेश विकलको बाल मनोविज्ञानमा आधारित कथा हो भने ‘जोगीमा’ राती राती फेरी लगाउँदै हिँड्ने जोगीहरूको दैनिक यात्रालाई समेटिएको छ। फिक्सनतर्फ उत्कृष्ट बन्न सफल सर्ट फिल्म एवं डकुमेन्ट्रीमा उत्कृष्ट बन्न सफल डकुमेन्ट्रीले नगद राशीसहित ट्रफी र प्रमाण पत्र पाउनेछन्।
यस्तै फेस्टामा परिच्छेद सेन निर्देशित ‘मदर’ले जुरी अवार्ड पाएको छ। यस्तै मान बहादुर बस्नेत निर्देशित ‘हलो’लाई वेस्ट कन्सेप्ट/स्क्रिप्ट सर्ट फिल्मको अवार्ड प्रदान गरिने भएको छ। यस्तै दीपक थापा निर्देशित डकुमेन्ट्री श्री गुप्तेश्वर महादेव गुफाले पब्लिक च्वाइस अवार्ड हात पारेको छ।
यस्तै शेखर खनाल निर्देशित विश्वकै होचा व्यक्तिको रुपमा गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल खगेन्द्र थापा मगरको जीवनीमा आधारित सगरमाथाको प्रतिबिम्बले बायोपिक डकुमेन्ट्रीको अवार्ड पाएको छ।
फेस्टामा हेम प्रभास निर्देशित ‘द माक्स’ र पनाह अधिकारी निर्देशित ‘आमा’लाई इन्करेजमेन्ट अवार्ड प्रदान गरिने भएको छ। फेस्टामा वरिष्ठ लेखक तथा निर्देशक मोहन निरौला निर्णायक संयोजक तथा संगीतकार एवं समीक्षक सन्तोष श्रेष्ठ र रंग पत्रकार/समीक्षक गीता अधिकारी निर्णायक रहेका थिए।
यस्तै दोस्रो सर्ट फिल्म फेस्टामा उत्कृष्ट बन्न सफल फिक्सनतर्फको सर्ट फिल्म बिबी फुयाँल निर्देशित ‘रक्तभोग’ एवं डकुमेन्ट्रीतर्फ उत्कृष्ट बन्न सफल रोशनी केसी निर्देशित ‘तीज’ तथा तेस्रो सर्ट फिल्म फेस्टामा उत्कृष्ट बन्न सफल फिक्सनतर्फको सर्ट फिल्म सञ्जय पाण्डे निर्देशित प्रेमदिवस एवं डकुमेन्ट्रीतर्फ विकास घले गुरुङ निर्देशित मास कोरियोग्राफ नेपाल एवं बायोपिकतर्फ मनिस पन्त निर्देशित ‘नर सिंह’ उत्कृष्ट भएका थिए।
यी सबै उत्कृष्ट बन्न सफल सर्ट फिल्म एवं डकुमेन्ट्रीलाई दशैं–तिहारको बिच आयोजना हुने एक समारोहका बीच अवार्ड प्रदान गरिने छायाँछविले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।