काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्षमा महेशकुमार श्रेष्ठले उम्मेद्वारी दिने भएका छन्। एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको अक्टोबर १५ देखि १७ मा हुने लागेको नवौं महाधिवेशनमा श्रेष्ठले कोषाध्यक्षमा उम्मेद्वारी दिने भएका छन्।
जापानमा रहेको पुराना तथा स्थापित व्यवसायी श्रेष्ठले एनआरएन कोषाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्। नयाँ कार्यसमितिका लागि अहिलेसम्म अध्यक्ष पदका लागि कुल आचार्य र कुमार पन्तले उम्मेद्वारी घोषणा गरिसकेका छन्।
श्रेष्ठले कोषाध्यक्षमा उमेद्वारी घोषणा गर्दै सहयोग र समर्थन गर्न अपिल गरेका छन्। आफू लामो समयदेखि कुनै न कुनै जिम्मेवारीमा रहेर एनआरएनए अभियानमा जोडिदैं आएको र आफ्नो सीप, अनुभव, क्षमता र योग्यतालाई अभियानमार्फत् उपयोग गर्दै मुलुकको समृद्धिमा योगदान दिन उम्मेद्वारी दिन लागेको उनको दाबी छ।
रेमिट्यान्स, रेष्टुरेन्ट, हाइड्रो, बैकिङ, आधुनिक कृषि, ट्राभल, आइटी, इन्स्युरेन्स, आयात-निर्यात, भौतिक पूर्वाधारलगायतका व्यवसायिक क्षेत्रमा संलग्न श्रेष्ठले गैरआवासीय श्रमिक कल्याण कोष र आर्थिक स्थायित्व, मितव्ययिता, पारदर्शिता र जवाफदेहितालाई मुख्य मुद्दाका रूपमा अगाडि सारेका छन्।
श्रेष्ठले गैरआवासीय श्रमिक कल्याण कोष’ को स्थापना गरी उक्त कोषमा वार्षिक ८ करोड जम्मा गर्ने ठोस योजनासहित ‘मितव्ययिता र पारदर्शिता, आजको आवश्यकता’ भन्ने मूल नारा लिएर अघि सारेका छन्। श्रेष्ठले उम्मेद्वारी घोषणा गर्दै १० बुँदे प्रतिबद्धता अगाडि सारेका छन्।
यस्तो छ प्रतिबद्धता
वार्षिक ८ करोड रुपैयाँ संकलन हुने गरी गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने
• आर्थिक हिसाबकिताब अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजिटलाइज गरिनेछ। संघको अनुमानित वार्षिक आय-व्यय तय गरी खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइटमार्फत सार्वजनिक गरिने छ।
• संघको काठमाडौंस्थित सचिवालयको खर्चमा मितव्ययिता अपनाई अझ व्यवस्थित बनाइने छ। साथै आर्थिक स्थायित्वको लागि आवश्यक नयाँ नीति तर्जुमा गर्ने।
• एनआरएनए केन्द्रीय महाधिवेशन एवं क्षेत्रीय बैठकमा हुने खर्च तथा संघले सञ्चालन गर्ने परियोजनामा गरिने खर्चहरुमा मितव्ययिता, पारदर्शिता एवं आर्थिक अनुशासन कायम गर्ने।
• सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नु पर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गर्ने
• १० अर्बको संयुक्त लगानी कोष स्थापना गरी थोरै आम्दानी हुने गैरआवासीय नेपालीले पनि लगानी गर्न सक्ने वातावरण तयार गर्ने
• खेलकुद अनि नेपाली भाषा, साहित्य र कला, संस्कृतिलाई विशेष प्राथमिकता क्षेत्रमा राखिने गरी युवा, महिला तथा दोस्रो पुस्तापछिका गैरआवासीय नेपालीहरुको समस्या, चुनौती र अवसरका बारेमा गहन अध्ययन गरी स्वेतपत्र जारी गर्ने
• भिजन २०२० एन्ड बियोन्ड एनआरएनका लागि मार्गदर्शक सिद्धान्त हो। विश्वभर छरिएर रहेका विभिन्न पेशा, वर्ग, क्षेत्र र विभिन्न समुदायका ६० लाखभन्दा बढी गैरआवासीय नेपालीहरुको साझा संगठनका रुपमा एनआरएनएलाई अघि बढाउन यसको सांगठनिक संरचनामा आवश्यकता अनुरुप परिवर्तन र परिमार्जन गर्ने लगायतका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।