जनकपुर- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज जनकपुरमा सरकार विरुद्ध प्रदर्शन गरेको छ। पार्टीले सुरु गरेको जागरण अभियानको दोस्रो चरणको अन्तिम दिन जनकपुरमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ।
महँगी, भ्रष्टाचार बढेको, महिला हिंसा, बलात्कार र हत्याका घटना बढेको संविधानको भावना प्रतिकुल विधेयक ल्याएको भन्दै कांग्रेसले सरकार विरुद्ध प्रदर्शन गरेको हो।
कांग्रेसले जनकपुरसहित प्रदेश नम्बर दुईका सबै जिल्ला सदरमुकाममा सरकार विरुद्ध प्रदर्शन गरेको बताएको छ। प्रदर्शनको क्रममा सरकारले प्रस्ताव गरेको नागरिकतासम्बन्धी विधेयक खारेजीको माग गर्दै चर्को नारा लगाएका थिए। नागरिकता विधेयक मधेश विरोधी रहेको भन्दै प्रदर्शनमा सहभागी नेता कार्यकर्ताले खारेज गर्न माग गरेका हुन्।
नागरिकता विधेयकका साथै कांग्रेसले संविधान संशोधन प्रक्रिया तत्काल अघि बढाउन माग गरेको छ।
जनकपुरधामको पिडडिया माइस्थानस्थित पार्टी कार्यालयबाट निस्केको जुलुस मुरली चोक, राम चोक, शिव चोक, भानु चोक हुँदै रेलवे स्टेशन पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले दुई तिहाइको दम्भमा कम्युनिष्ट सरकार जनताको लोकतान्त्रिक अधिकार खोस्न उद्यत भएको आरोप लगाएका थिए।
‘सरकारले आमनागरिकलाई शान्ति सुरक्षा दिन सकेको छैन, भ्रष्टाचार र महंगी हरेक दिन बढेको छ’, उनले प्रश्न गरे,‘के यसकै लागि जनताले दुई तिहाई मत दिएको हो त?’ नेपाली कांग्रेस धनुषाको आयोजनामा निकालिएको विरोध प्रदर्शन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।