त्रिशूली, नुवाकोट- विभिन्न अपराधमा संलग्न भएर जिल्ला अदालतबाट मुद्दा फैसला भई कैद र जरिवाना भुक्तान नगरी फरार रहेकालाई पक्राउ गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालयले एक महिनामा एक सय जनालाई पक्राउ गरेको छ।
प्रहरीले गत पुस २८ गतेदेखि माघ २८ गतेसम्म १ सय २ फरार अभियुक्तलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदातलमा बुझाएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। प्रहरीले सबैभन्दा कम १२ देखि सबैभन्दा बढी ३६ हजार २ सय ३० रुपैयाँसम्म जरिवाना असुली गरेको छ भने कैद असुलतर्फ नौ दिनदेखि १० वर्षसम्म छ।
साविक राउतबेंसी गाविस–८ का वीरबहादुर तामाङलाई गौबध अभियोग प्रमाणित भई १२ रुपैयाँ तथा थानसिङ–९ का रामचन्द्र थापालाई वन फँडानी मुद्दामा ३६ हजार २ सय ३० रुपैयाँ जरिवाना फैसला भएको थियो। उनीहरु पक्राउ परेका छन्।
यस्तै, नौ दिन कैदको फैसला भएका ज्यान मुद्दामा दुईपीपलका हरिबहादुर नेपाल पक्राउ परेका छन्। मानव बेचबिखन मुद्दामा २०४२ पुस ४ गते १० वर्ष कैद फैसला भएका पञ्चकन्या गाउँपालिका–४ आरुखर्कका भीमबहादुर तामाङलाई पनि प्रहरीले आइतबार पक्राउ गरी कैद भुक्तानका लागि अदालत पठाएको छ।
प्रहरीले सो अवधिमा ३० वर्ष १० महिना २८ दिन कैद र चार लाख २३ हजार रुपैयाँ ३२ पैसा जरिवाना असुल गराउन सफल भइएको जनाएको छ। अदालतबाट फैसला भई फरार भएकालाई पक्राउ गरी कानुनी दायरामा ल्याउने अभियानलाई अझै तीव्रता दिइने प्रहरी उपरीक्षक कुँवरले बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।