राजविराज– नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत मंगलबार सप्तरीको राजविराजमा आयोजित विरोधसभामा कांग्रेसबाटै निर्वाचित एक सांसद कार्यकर्ताबाट अपमानित भएका छन्।
आसन ग्रहणको विषयमा विवाद भएपछि कांग्रेसकै केही कार्यकर्ताले सांसद तेजुलाल चौधरीलाई अपमानित गरेको चौधरीका समर्थकले बताए। उनी सप्तरी निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
राजविराजस्थित पब्लिक विन्देश्वरी माविमा आयोजित कार्यक्रमको औपचारिक सुरुवात भएपछि आसन ग्रहणको विषयमा विवाद भएको थियो। मर्यादाक्रम नमिलेको भन्दै चौधरीले मञ्चमा जान अस्विकार गरेका थिए। तर, नेताहरुको आग्रहपश्चात् उनी मञ्चमा पुगेपछि धक्का दिएर निकालिएको थियो।
मञ्चमा विवाद र धक्कामुक्की भएपछि लर्बराएका चौधरी मञ्चबाट भुइँमा लडेका थिए। लगत्तै उनले कार्यक्रम बहिस्कार गरेर जनआन्दोलन चोकमा कोणसभा गरेका छन्।
उनीसँगै सांसद नमिता चौधरी, पूर्वसभासद रणजित कर्ण, नेपाली कांग्रेस जिल्ला सभापतिका प्रतिद्वन्द्वी रामदेव साह, महाधिवेशन प्रतिनिधि हेमनारायण चौधरी लगायतका २ सयभन्दा बढी नेता/कार्यकर्ता कोणसभामा सहभागी भए।
नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश यादव समर्थित कार्यकर्ताले सुनियोजित रुपमा आफूमाथि आक्रमण गरेको चौधरीको आरोप छ।
विवादका क्रममा पार्टी सभापति आफै अगाडि आएर ‘तँलाई ठिक पार्दिन्छु’ भन्दै उफ्रिएपछि अन्य कार्यकर्ताले आफूलाई घाँटीमा हात हालेर गलहत्याएको उनले आरोप लगाए। नेविसंघ जिल्ला सभापति घनानन्द यादव, विजय यादव, कांग्रेस सप्तरीका कार्यालय सचिव भूपेन्द्र यादव, लोकतान्त्रिक गैसस महांसघका जिल्ला अध्यक्ष अर्जुन यादव लगायतले आफूमाथि हात हालेको चौधरीको भनाइ छ।
सभापति यादवले पार्टीलाई गुण्डा शैलीमा सञ्चालन गरेको र त्यसविरुद्ध आवाज उठाउँदा गुण्डा लगाएर दुर्व्यवहार गरेको बताएका छन्। उनले सभापति यादवलाई साधारण सदस्य समेतबाट हटाउन केन्द्रीय कमिटीसँग माग गरेका छन्।
सभापति यादव शेरबहादुर देउवा पक्षधर र चौधरी रामचन्द्र पौडेल पक्षधर हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।