काठमाडौं–
‘यो कस्तो यात्रा रहेछ,
मैले भुल्नै सकिनँ
यो कस्तो मिलन रहेछ,
सायद फेरि हुँदैन...’
पूर्वमा एकदमै रुचाइएको गीत हो यो। सायद अरुतिर गुड्ने बस र बज्ने रेडियो/एफएममा पनि खुब गुन्जिएको हुनुपर्छ।
वर्षौंअघि रिलिज भएको यो गीतको ‘म्यूजिक भिडियो’ त बनेको छैन तर यसको अडियोमात्रै पनि श्रोतामाझ लोकप्रिय छ। युट्युबमामात्रै यसको अडियोलाई १ लाख ३५ हजारभन्दा बढीपल्ट हेरिएको रहेछ।
कुनैबेला पूर्वमा निकै परिचित ‘द लिजार्ड ब्यान्ड’ले निकालेको मिठो प्रेम गीत हो यो। यो गाउने गायक हुन् जेनिस लामा। जेनिस अर्थात् झापामा निकै रुचाइएको स्वर।
यद्यपि, मूलधारको संगीतमा परिचित हुनलाई स्वरमात्रै भएर कहाँ पुुग्छ र? जेनिस र यो ब्यान्डको प्रतिभा पनि राजधानी छिर्न नपाउँदै मोफसलमै खुम्चियो। कारण, उही कमजोर आर्थिक स्थिति त हो।
यही कारण जेनिस र उनको ब्यान्ड पनि संगीतको दुनियाँबाट लामो समय टाढियो, उनको गीतजस्तैः
‘जाँदैछु म टाढा तिमीलाई छोडेर
फर्किने छैन म तिमीलाई सम्झेर...’
तर, अहिले फेरि उनी श्रोता/दर्शकमाझ फर्किएका छन्, नयाँ गीत ‘फूलिदेऊ तिमी फूलसरी’को म्यूजिक भिडियोसहित।
‘फूलिदेऊ तिमी फूलसरी
मुस्कुराएर सधैँभरी
नरिसाऊ तिमी यसरी
संसार नै कालो हुने गरी...’
गीतमा जेनिसकै शब्द र संगीत छ। म्यूजिक एरेन्ज आकाश गोर्खालीले गरेका छन्। कमल मगरले सम्पादन एवम् निर्देशन गरेको गीतको भिडियोमा मोडलद्धय सुजना ढकाल र सिद्धान्त शर्मा फिचर्ड छन्।
‘म फेरि मेरो संगीत यात्रालाई यही गीतमार्फत फुलाउने योजनमा छु, आशा छ ‘फूलिदेऊ’ले पक्कै फूलसरी फुलाउन मद्दत गर्नेछ,’ ‘द लिजार्ड ब्यान्ड’का भोकलिस्ट जेनिसले भने।
यो ब्यान्डमा सुरेन तामाङ बास गितारिस्ट, विक्रम लिम्बु ड्रमर, रकेट राई लिड गितारिस्ट र बिजु मुखिया ब्यान्ड म्यानेजर छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।