काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच मंगलबार एक समझदारी पत्रमा हस्ताक्षर हुँदैछ।
यसअघि एमाले र माओवादीबीच छुट्टाछुट्टै रुपमा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध रहँदै आएको थियो। ‘दुई पार्टीबीच एकता भएर नेकपा बनिसकेको सन्दर्भमा नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच औपचारिक सम्बन्ध बन्ने छ’, नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले नेपाल लाइभसँग भने।
समझदारीपत्रमा हस्ताक्षरपछि दुई पार्टीबीच भाइचारा सम्बन्ध कायम गराउनुका साथै दुई पक्षीय भ्रमण, विचार, अध्ययनहरुको आदानप्रदानमा सहयोगी हुने रिजालले स्पष्ट पारे।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नेकपा विदेश विभाग प्रमुख माधव नेपाल र सीपीसी विदेश विभाग प्रमुख सोङले समझदारी पत्रमा हस्ताक्षर गर्नेछन्।
हस्ताक्षर कार्यक्रम बिहान साढे ११ बजेको लागि तय गरिएकोछ।
छलफल कार्यक्रम आज सकिँदै
नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा सोमबारबाट सुरु ‘विचारधारात्मक छलफल’ कार्यक्रम आजबाट सकिँदै छ।
सोमबारको उद्घाटन समारोहमा नेकपाका तर्फबाट ईश्वर पोखरेलले उद्घाटन मन्तव्य राखेका थिए। त्यस्तै, नेकपा अध्यक्षद्वय प्रचण्ड र ओलीका साथै सीपीसी विदेश विभाग प्रमुख सोङ ताओले आफ्नो विचार राखेका थिए।
नेकपाका नेताहरुले सि विचारधाराको प्रशंसा गरेका थिए। प्रधानमन्त्री ओलीले शक्तिशाली हुँदै गएपछि मुलुकहरूमा शक्तिको दम्भ हुने भए पनि चीनमा त्यस्तो नगरेको भन्दै प्रशंसा गरेका थिए। ‘चीन शक्तिशाली भए पनि थिचोमिचो नगर्ने, शान्ति, मित्रतासाथ अघि बढेको छ’, उनले भनेका थिए।
त्यस्तै, प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टीले राजनीतिक क्रान्तिको नेतृत्व मात्र होइन, समृद्धि पनि हासिल गर्न सक्छ भन्ने उदाहरण चीनले देखाएको र त्यसको श्रेय राष्ट्रपति सीलाई जाने धारणा राखेका थिए।
अर्का अध्यक्ष प्रचण्डले राष्ट्रपति सीले अघि सारेको बीआरआईको अवधारणा चीनको मात्र नभएर विश्वकै बहुआयामिक भन्दै प्रशंसा गरे। उनले त्यसलाई विश्व समुदायको हितमा आएको एक नयाँ अवधारणाका रूपमा आफूले बुझेको बताए। उनले बिआरआईले राष्ट्रपति सिको बौद्धिकता, सैद्धान्तिक वैचारिक व्यक्तित्व र दुरदर्शितालाई प्रतिविम्बित गर्ने बताए।
ताओले भने सि विचारधारालाई थप प्रष्ट पार्ने प्रयास गरेका थिए।
मंगलबार दश बजेबाट सुरु हुने कार्यक्रम दिनभरजसो चल्ने छ। जसअन्तर्गत चिनियाँ नेताहरुको तर्फबाट तीनवटा कार्यपत्र प्रस्तुत हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।