काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीनबीचको सम्बन्ध हिमालझैं उच्च र अटल रहेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले काठमाडौंमा आयोजित दुई पार्टीबीचको विचारधारात्मक छलफल कार्यक्रमको सोमबार उद्घाटन गर्दै दुई मुलुकबीचको सम्बन्धलाई हिम नदीझैं स्वच्छ र अविछिन्न रहेको पनि बताए।
दुई मुलुकबीचको मित्रता स्वर्थहरुको लेनदेनभन्दा माथि तथा आपसी सम्मान, शान र सहयोगमा आधारित रहेको प्रधानमन्त्री ओलीको भनाई थियो। ‘हाम्रा मित्रता खुला छ, स्वतन्त्र र अटल छ। हामी एक अर्काका सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दछौं,’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘हाम्रो मित्रता स्वार्थहरुको लेनदेनभन्दा धेरै माथि छ, आपसी शान, सम्मान अनि सहयोगमा आधारित छ। हाम्रो दुई देशबीच समस्यारहित सम्बन्ध छ। हामीले हाम्रो मित्रतालाई पारस्परिक लाभ र सहयोगको भावनामा अघि बढाईरहेका छौं।’
प्रधानमन्त्री ओलीले समयक्रममा दुई देशबीच आईपर्ने समस्याहरुलाई मैत्रीपूर्ण आपसी संवादको माध्यामबाट अघि बढाउने पनि बताए। उनले नेपाल ‘एक चीन नीति’प्रति स्पष्ट र दृढ रहेको उल्लेख गरे।
कार्यक्रममा बोल्दै नेकपाका अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ कम्युनिष्ट पार्टीले संसारमा कुनै शासन व्यवस्थाले दिन नसकेको आत्मसम्मान, गौरव र आर्थिक विकास चिनियाँ जनतालाई दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताएका थिए।
कार्यक्रममा बोल्दै चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवम् विदेश विभाग प्रमुख सोङ ताओले जनताको जीवनस्तर सुधारमा लाग्न नेपाल कम्युनिष्ट पार्टीलाई सुझाव दिए । दुई दिनसम्म चल्ने सो छलफलमा दुई पार्टीको विचारधारा ‘सी जीनफिङ विचारधारा’ र नेपाल कम्युनिष्ट पार्टीको ‘जनताको बहुदलीय जनवाद’बारे छलफल हुनेछ। तस्बिर-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।