काठमाडौं- विभिन्न जिल्लाका किशोरीहरुले आफ्ना समस्या र मुद्दालाई चित्रण गर्दै तयार पारेका कलाहरुको काठमाडौंमा प्रदर्शनी शुरु भएको छ।
असोज ५ देखि असोज ११ गतेसम्म काठमाडौंको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा हुनेछ।
प्रदर्शनीमाकिशोरीले तयार पारेको १ सय ५० वटा प्रतिनिधिमूलक कलाहरुलाई राखिएको छ।
प्लान इन्टरनेसनल नेपाल र सिद्धार्थ आर्ट फाउन्डेसनको आयोजनामा यो प्रदर्शनी 'आर्ट इज पावर' कार्यक्रम अन्तर्गत भएको हो।
काठमाडौंस्थित फिनिस, फ्रेन्च, जर्मन दूतावासले यो कार्यक्रम प्रवर्द्धनमा साझेदारी तथा आर्टसम्बन्धी अन्य संस्थाहरूले किशोरीको चासोलाई सरोकारवाला माझ पुर्याउन कलाहरु तयार पार्न संयोजन गरेका थिए।
यो प्रदर्शनीअघि जुम्ला, बाँके, मकवानपुर, सिन्धुली र सुनसरीमा कला कार्यशाला भएका थिए। पिछडिएका समुदायका किशोरीहरुलाई उनीहरुको भावनाकलाको माध्यमबाट व्यक्त गर्न, उनीहरुको आवाज नीतिनिर्मातासम्म पुर्याउन र असमानताविरुद्ध चेतना बढाउने मौका प्रदान गरेको थियो।
यसअघि सार्वजनिक रुपमा आफ्नो समस्या र मुद्दाबारे अभिव्यक्त गर्न मौका नपाएका ११ देखि १७वर्ष उमेरका २३५ किशोरीहरुले गतभाद्र महिनामा आयोजित कार्यशालामा भाग लिएका थिए।
कार्यशालामा सहभागी भएपछि उनीहरुले कलात्मक तरिकाबाट चित्र, कविता, गीत र शब्दमार्फत् आफ्नो घर, विद्यालय, समुदाय र वरपर आफूले भोगिरहेका समस्याबारे अभिव्यक्त गरेका हुन्।
कार्यशालापश्चात् बालिका र किशोरीहरुले आफ्नो कला सृजना गरेका थिए। ती कलाहरुलाई समुदाय तहमा गरिएको प्रदर्शनीको स्थानीय तहका जनप्रतिनिधि, सरकारी अधिकारी, अभिभावक, शिक्षक, नागरिक समाजका सदस्य, सञ्चारकर्मीले अवलोकन गरेका थिए।
यो प्रदर्शनी प्लान इन्टरनेसनलको विश्वव्यापी अभियान गर्ल्स गेट इक्वेलअन्तर्गत भएको हो।
गत वर्ष शुरु भएको यो अभियानले किशोरीका लागि समान शक्ति, स्वतन्त्रता र प्रतिनिधित्वको माग गरेको छ। यो अभियान नेपालमा गत मार्च ८ का दिन शुभारम्भ भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।