काठमाडौं– राष्ट्रिय जनता पार्टी राजपामा अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी आजदेखि पुन महन्थ ठाकुरले सम्हाल्दैछन्।
असोज ५ मा बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले ६ गतेदेखि ठाकुरले संयोजकको जिम्मेवारी सम्हाल्ने निर्णय गरेको हो।
योसँगै राजपाको संयोजक मण्डलको अध्यक्षको एक चक्र पुरा भएको छ।
मधेश केन्द्रित ६ वटा पार्टी मिलेर ०७४ बैशाख ७ मा राजपा बनेको थियो। ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी राजपामा जोडिएका थिए।
एकताका बेला संयोजक पद चक्रीय प्रणालीमा गरिने भनिए पनि ठाकुर एक्लै डेढ वर्षसम्म संयोजक भएका थिए।
तर अघिल्लो वर्ष मंसिर ४ गते बसेको अध्यक्ष मण्डलको बैठकले नेतृत्वलाई चक्रीय प्रणालीमै सञ्चालित गर्न बहुमतबाट निर्णय गरेको थियो। त्यसपछि राजेन्द्र महतो अध्यक्ष मण्डलका संयोजक बनेका थिए।
महतोपछि क्रमशः महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव अध्यक्ष भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।