काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना नेता तथा कार्यकर्ताहरु कांग्रेस र हिजोका निरंकुशतावादीजस्तै हुँदै गएका बताएका छन्।
सहाना प्रधानको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट कार्यकर्ताहरु आफ्ना आदर्श, विचार र निष्ठाबाट स्खलित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे।
पञ्चायतकालमा जस्तै पद र प्रतिष्ठाको निम्ति, त्यसलाई बचाउनको निम्ति जे गर्थे अहिले कम्युनिस्ट कार्यकर्ताहरु पनि त्यस्तै गर्ने भएकाले मानिसहरुलाई भेद छुट्याउन गाह्रो भएको बताए।
'भन्न त हामीले समाजवादको यात्रा सुरु गर्ने भनेका छौं। तर त्यसका निम्ति एउटा योद्धा जस्तै छौं त हामी? या, हामी बिस्तारै बिस्तारै कांग्रेस जस्ता या हिजोका निरंकुशतावादीहरुको जस्तैजस्तै भयौ', उनले भने।
कम्युनिस्ट भन्दाखेरी लामो समयदेखि गरिब, उत्पीडित, न्याय, समानता, स्वतन्त्रता र आत्मसम्मानको निम्ति लडेका भनेर सम्झिँदा जनताले भरोसा र भोट दिएको उल्लेख गर्दै प्रचण्डले व्यवहार र आचरण हेर्दा भने उस्तैउस्तै रहेको बताए।
उनले जनवादी क्रान्ति मूलभूत रुपमा सम्पन्न गरेर अब समाजवाद तिरको यात्रातिर अगाडि बढिरहेको र अब विचार, राजनीति, रणनीति, संगठनात्मक र जीवनको आचरण के हुने भन्ने प्रष्ट गर्ने चुनौती रहेको बताए।
उनले आफूहरु वर्ग विभेदलाई मेटेर वर्ग समन्वयतिर गएको भन्दै आजको मुख्य प्रश्न नै त्यही भएको बताए।
'अब समाजवादको आधार निर्माण गर्ने, समाजवादी क्रान्तिको तयारी गर्ने, त्यसको निम्ति आवश्यक पर्ने विचारको स्पष्टता हामीमा आयो त?', उनले प्रश्न गरे।
उनले मीठामीठा कुरा गर्न सजिलो भए भए पनि के गरिन्छ, त्यसको ठूलो अर्थ र महत्त्व हुने बताए।
'भन्न त मिठामिठा कुरा भन्न सकिने रहेछ। किनकि हामीले देख्यौं, हिजोका तानाशाहहरुले पनि विकासको मूल फुटाउने कुरा गरेकै हुन्। हिजोका राजा महाराजाहरुले पनि विकासको मूल फुटाउने भनेका हुन् तर अर्थोकै फुट्यो', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।