सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टीभित्र अराजकता बढेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल निर्माण व्यवसायी सङ्गठनको प्रदेशस्तरीय कमिटी गठन तथा शपथग्रहण कार्यक्रमलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरुले भेटेर सुझाव दिनुको साटो सामाजिक सञ्जालमा सरकारको विरोध गर्ने गरेकोप्रति गुनासो गरे।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले 'पार्टीका नेताहरुमै अराजक प्रवृत्ति हाबी भएकाले लगाम कसले लगाउने?' भनी प्रश्न गरे। 'नेकपा अनैतिक व्यक्तिको जमघट गर्ने थलो होइन, घोषणापत्रअनुसार काम नभएको भए पार्टीले फिर्ता गर्नुपर्छ,' उनले भने, 'पार्टीका नेता/कार्यकर्ताले सरकारलाई सकारात्मक सुझाव दिनुपर्छ, सरकार नेकपाकै हो, सरकारको मात्रै असफलता हुँदैन, यसमा पार्टीको पनि भविष्य जोडिएको छ।'
मुख्यमन्त्री शाहीले विगतमा जस्तो बजेट बाँड्ने तर काम नहुने प्रथाको अन्त्य गर्न जरुरी रहेको बताए।
भेलाले जुम्लाका निर्माण व्यवसायी अशोक श्रेष्ठको संयोजकत्वमा ४३ सदस्यीय तदर्थ समिति गठन गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।