काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएको दाबी गरेका छन्।
पूर्व प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता नेपालले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्र भागमा राखेर नेपाली जनता आफैंले बनाएको नेपालको संविधान कार्यान्वयनमा इमानदार भएर लाग्न पनि आग्रह गरे।
संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयनमा सबैले समर्पित भएर लाग्ने बेला आएको बताए। संविधानमा व्यवस्था भए बमोजिम तल्ला तहका निकायहरुले कानुन निर्माण गर्न सक्ने/नसक्ने बहसको विषय भए पनि अहिले भने संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्ने वरिष्ठ नेता नेपालको भनाइ छ।
वरिष्ठ नेता नेपालले मुलुकलाई समृद्ध बनाउने संकल्पसहित आएको संविधानलाई इमादारिताका साथ कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको धारणा राखे। उनले संविधानसभाबाट संविधान जारी गरेर नेपालले विश्वमै गर्व गर्न लायक काम गरेको पनि स्मरण गराए।
वरिष्ठ नेता नेपालले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुको शिक्षा, दीक्षाको उचित व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औंल्याए। उनले देश गरिब भएकाले संविधानमा उल्लेख गरिए बमोजिम जनतालाई तत्काल सेवा, सुविधा दिने अवस्था नरहेको पनि बताए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।