राजविराज- गृहमन्त्री रामबहादुर थापाले कारागार सुधारका लागि आवश्यक योजना ल्याउने बताएको डेढ वर्ष बित्यो। २०७४ चैत्र ६ गते सुन्धारास्थित केन्द्रीय कारागारको निरीक्षणपछि मन्त्रीले ‘तत्काल’ ल्याउने भनेको सुधार योजना अहिलेसम्म आएको छैन।
गृहमन्त्रीकै प्रतिवद्धता कार्यान्वयनमा नआउँदा देशभरका कारागारको अवस्था 'दयनीय' छ। हाल देशका ७२ जिल्लामा ७४ वटा कारागार छन्। दाङको घोराही र तुल्सीपुर तथा काठमाडौंको सुन्धारा र डिल्लीबजार (चारखाल) गरी दुई/दुई ठाउँमा कारागार छन् भने नवलपुर, रुकुम पूर्व, धनुषा, बारा र भक्तपुर कारागारविहीन छन्।

पर्खाल भत्कनु र छतबाट पानी चुहिनु देशभरकै कारागारको समान समस्या हो। यति मात्र होइन, कारागारहरुको भित्री भाग अझै दर्दनाक छ। देशभरका कारागारमा जम्मा १० हजार कैदी बन्दी राख्नसक्ने क्षमता छ। तर, साँघुरा कोठा/ब्लकमा क्षमताभन्दा बढी कैदिबन्दी कोच्चिएर दिन काटिरहेका छन्। शौचालय, खानेपानी, सुत्ने/बस्ने ठाउँ र औषधोपचारको अभाव कारागारका निम्ती सदैव चुनौती बन्दै आएका छन्।
कारागारमा ठाउँअनुसार पनि फरक-फरक समस्या छन्। यीनै समस्याले सदैव घेरिरहनेमध्येको एक हो- राजविराजस्थित सप्तरी जिल्ला कारागार।
१ सय २५ जना अट्ने कारागारमा ३ सय ३४ कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा करिब तेब्बर कैदीबन्दी राखिएको छ। १ सय १५ पुरुष र १० महिला गरी कूल १ सय २५ जनाको क्षमता रहेको कारागारमा हाल १७ महिलासहित ३ सय ३४ जना कैदीबन्दी छन्। पुरुषतर्फको ‘ए ब्लक’ मा २ सय ४, ‘बी ब्लक’ मा १ सय १७ र महिला ब्लकमा १७ जना कैदिबन्दीलाई राखिएको छ।
कारागारमा १० महिलासहित २ सय कैदी र ७ महिलासहित १ सय ८४ बन्दी छन्। १५ जना भारतीय नागरिकसमेत रहेको कारागार प्रशासनले जनाएको छ। महिला ब्लकमा एक जना नाबालक पनि आमासँगै रहेको कारागारका निमित्त प्रमुख सत्यनारायण यादवले बताए।
क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण कोच्चिएर बस्नुुपर्ने, पानी तथा शौचालयका लागि लाइन बस्नुपर्ने, टाँसिएर सुत्दा छालासम्बन्धी रोगको संक्रमणबाट पीडित हुनुपर्ने लगायतका समस्याले हैरान भएको कैदीबन्दीले गुनासो गरेका छन्।

गर्मीका कारण रक्तचाप बढ्ने, ज्वरो आउने समस्याले कैदीबन्दी पीडित भएको चौकीदार जितेन्द्रकुमार यादवले जानकारी दिए। स्थान अभावका कारण कैदीबन्दीलाई कोचेर राख्नु परेको निमित्त प्रमुख यादवले स्वीकारे।
भवन जिर्ण
२००८ सालमा निर्मित कारागारको भौतिक संरचना जिर्ण बनेको छ। माटोको जडान रहेको जिर्ण भवनको मर्मतसम्भार हुन सकेको छैन।
पर्खालका इट्टा सरेका छन् भने भत्किने खतरा पनि उत्तिकै रहेको चौकीदार यादवको आँकलन छ। ‘कतिबेला भत्केर किच्ला भन्ने त्रासमै कैदीबन्दीको रातदिन बित्छ,’ उनले भने, ‘तलमाथि केही भए अनिष्ट हुने सम्भावना छ।’ वर्षातको समयमा भवनको छत चुहिएर सुत्न-बस्न समस्या हुने गरेको यादवले जानकारी दिए।

भत्काएर नयाँ बनाइसक्नु पर्ने अवस्थामा कारागार भवनको मर्मतसमेत नहुँदा कैदिबन्दीको चिहिलविहिल भएको उनको गुनासो छ। जिर्ण भवन मर्मत तथा पुनर्निमाणका लागि माथिल्ला निकायमा जानकारी गराउँदा पनि हालसम्म सुनुवाई नभएको कारागार प्रशासनले जनाएको छ।
कारागार हाताभित्रको करिब आधा जग्गा अतिक्रमणमा समेत परेको छ।
फाहोरको समस्या उत्तिकै
जग्गा अतिक्रमण गरी बसेका कतिपयले पालेका सुँगुरका कारण कारागार वरपरको वातावरण दुर्गन्धित छ। फोहोरका कारण रोग फैलनसक्ने खतरासमेत रहेको कर्मचारीहरु बताउँछन्। ‘आफ्नै जग्गा बहिर पारेर तारघेरा कसरी गर्नु? जग्गा छोडिदिएको बुझाई हुनसक्छ,’ यादव भन्छन्, ‘नगरौं भने फोहोर र दुर्गन्धले समस्या पारिसक्यो।’

अर्कोतर्फ, वडा नम्बर ८ मदननगर हुँदै आउने नालाको फोहोरले पनि कारागारमा रोगको जोखिम छ। मदिरा तथा पानीका बोतलदेखि खसी र कुखुराको भुत्ला तथा हाडखोरले कारागार वरपरको बस्ती नै दुर्गन्धित छ। फोहोर व्यवस्थापनका लागि पटक-पटक प्रतिवद्धता आए पनि काम भने हुनसकेको छैन।
मदिराले निम्त्याउँदै असुुरक्षा
अतिक्रमित जग्गामै घरेलु मदिरा उत्पादन र बिक्री वितरणले पछिल्लो समय सप्तरी जिल्ला कारागार असुरक्षित बन्दै गएको छ।
वर्षौदेखि कारागार वरिपरिका करिब १ दर्जन घरमा मदिरा उत्पादन र बिक्रीवितरण हुँदा पनि सुरक्षा निकायले चासो दिएको छैन। मदिराभट्टि सञ्चालनमा कतिपय पूर्वप्रहरीकै परिवारको संलग्नता भएकोले प्रहरीले चासो नदिएको स्थानीयहरुको आरोप छ। यसले कारागारको सुरक्षामा खतरा पुर्याउन सक्ने उनीहरुको आँकलन छ।

सप्तरीका प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाईंले भने कारागार आसपासको मदिरा भट्टी हटाउनका लागि प्रयास सुरु भइसकेको जानकारी दिए। ‘मैले बुझेसम्म सप्तरी जिल्लाकै सवैभन्दा ठूलो समस्या भनेको लागुऔषध र मदिरा हो,’ उनले भने, ‘जिल्लामा भइरहेका ८० प्रतिशत घटना मदिरा र लागुऔषधकै कारण भएका छन्। त्यसलाई नियन्त्रण गर्न लागुऔषध र मदिरा नियन्त्रणका लागि प्रहरीले स्ट्रिक्ट्ली काम गर्छ।’
जिल्लाको ७५ प्रतिशत क्षेत्रमा घुम्दा मदिरा र लागुऔषध नै सबैभन्दा ठूलो खतरा रहेको आफूले महसुस गरेको प्रसाईंको भनाइ छ। ‘अपराध रोक्ने हो भने लागुऔषध र मदिरा रोक्नु अनिवार्य छ,’ उनले भने, ‘त्यसमा संलग्न जोसुकै भएपनि छुट हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।