जनकपुर- धनुषाको हंसपुर नगरपालिकाका मेयर र उपमेयर विवाद यतिबेला मुद्दामामिलासम्म पुगेको छ। त्यसमाथि हत्या मुद्दा नै दायर भएको छ। मेयर र उपमेयर दुवैले एक अर्काविरुद्ध हत्याको आरोपमा मुद्दा दर्ता गराएपछि नगरपालिकामा खलबल नै मच्चिएको छ। त्यसमाथि नगरपालिकाको दैनिक कार्यसम्पादन पनि प्रभावित हुँदै आएको छ।
हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेयता हँसपुर नगरपालिकाका मेयर, उपमेयर र तीन वडाध्यक्ष तथा एक मनोनित सदस्यसहित ६ कार्यपालिका सदस्य सम्पर्कविहीन छन्।
यसरी नगरपालिका हाँक्ने जनप्रतिनिधि नै सम्पर्कविहीन हुँदा कामकाजका लागि नगरपालिका आउने सेवाग्राही मर्कामा परेका छन्।
हंसपुर नगरपालिका-२, बघचौडाका ५७ वर्षीय तपेश्वर मण्डलको मृत्युको घटनामा मेयर रामज्ञान मण्डल, उपमेयर रेणुकुमारी झा, वडा नम्बर २ का वडाध्यक्ष उदयकुमार साह, ३ का वडाध्यक्ष उदयकुमार सिंह, ४ का वडाध्यक्ष किसोरी यादव तथा मनोनित कार्यपालिका सदस्य श्याम राउतमाथि हत्याको आरोपमा उजुरी परेको छ।
मेयर, उपमेयरसहित नगरपालिकाका ९ वडाध्यक्षमध्ये ३ वडाध्यक्ष कार्यालयमा उपस्थित नभएपछि नगरपालिका तथा वडामार्फत प्रदान गर्दै आएका सेवासुविधासमेत प्रवाह हुन पाएको छैन। नगरपालिकाले प्रदान गर्ने स्वास्थ्य, कृषि, भूमि, सामाजिक सुरक्षा कार्यक्रम प्रभावित भएको छ भने भने मातहातका शिक्षा, स्वास्थ्य, कृषि, पशु लगायतका सेवा कार्यालयमा कार्यरत कर्मचारीले दसैंको मुखमा पनि तलब भत्ता पाउने/नपाउने टुंगो नभएको भन्दै चिन्तित बनेका छन्।
मृतक मण्डल, उपमेयर झा लगायत।बघचौडा उच्च माविका एक शिक्षकले भने, ‘दसैं आइसक्यो, दुई साता नि बाँकी छैन, नगर प्रमुखलगायत नै सम्पर्कविहीन छन्। दसैंअघि तलबभत्ता भुक्तानी हुन्छ कि हुँदैन, अझै पनि अन्योल छ।’
यसका अतिरिक्त वडासमितिबाट प्रदान गरिँदै आएको जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, कृषि मोटर, स्वास्थ्यलगायत कागजात बन्ने प्रक्रिया पनि ठप्प छ।
के थियो विवादको अन्तर्य?
राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार भई मेयरमा निर्वाचित रामज्ञान मण्डल र उपमेयर रेणुदेवी झा बीचको विवाद पदबहाली गरेबाटै सुरु भएको हो।
दुवैले आ-आफ्नो पायक पर्नेगरी छुट्टाछुट्टै स्थानमा कार्यालय सञ्चालन गर्दै आइरहेकोमा मेयर मण्डलले दोश्रो नगरसभाका क्रमममा नगरपालिकाको केन्द्र सार्ने प्रस्ताव ल्याएपछि दुवै जना बीचको विवाद उत्कर्षमा पुगेको थियो। विवाद कै क्रममा साउन २१ गते मेयर र उपमेयरका समर्थकबीचमा झडप भएको थियो।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर गर्नुका साथै लाठीचार्ज समेत गरेको थियो। सोही झडपमा परेर हंसपुर-२, बघचौडाका ५७ वर्षीय तपेश्वर मण्डल गम्भीर घाइते भई जनकपुर अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गराइएका थिए। उपचारकै क्रममा मण्डलको भदौ १८ गते राति मृत्यु भएको थियो। मण्डलको अझैसम्म पनि पोष्टमार्टम रिपोर्ट आएको छैन।
सेतो बनियनमा मृतक मण्डल र बायाँतर्फ बसिरहेकी उपमेयर झा।मण्डलको मृत्यु भएको भोलिपल्ट उपमेयर झाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय धनुषामा आएका मृतकका छोरा राजकुमार मण्डलसहितका बघचौडावासीले मेयर मण्डल, सोही नगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष उदयकुमार सिंह, कार्यपालिका सदस्य श्याम राउत तथा मेयरका सहयोगी लालबाबु राउतविरुद्ध ज्यान सम्बन्धी कसुर मुद्दामा किटानी जाहेरी दिएका थिए।
त्यसको ६ दिनपछि अर्थात भदौ २६ मा मेयर र उनका समर्थकले उपमेयर झा, हंसपुर नगरपालिका-२ का वडाध्यक्ष उदय साह र हंसपुर-४ का वडाध्यक्ष किसोरी यादवलाई विपक्षी बनाई जिल्ला प्रहरी कार्यालय धनुषामा पुनः अर्को ज्यानसम्बन्धी कसुरको उजुरी दर्ता गराए। उजुरी परेदेखि उनीहरु सबै सम्पर्कविहीन छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले दुवै उजुरी एउटै घटनासँग सम्बन्धित भएकाले एउटै फाइलमा राखी अनुसन्धान अगाडि बढाएको बताए। उनले भने, ‘प्रहरी अनुसन्धान जारी छ।’
'लासमाथि राजनीति सह्य छैन'
हंसपुर नगरपालिका केन्द्र विवादको झडपमा मारिएका ५७ बर्षिय तपेश्वर मण्डलको परिवारजनले दोषीलाई कडा कानुनी कारबाहीको माग गरिरहँदा मृतकको नाममा मेयर र उपमेयरले राजनीति सुरु गरेको आरोप लगाएको छ।
किरिया बसेका तपेश्वरका कान्छा छोरा उपेन्द्र मण्डलले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सहयोग गर्नुको साटो बुवाको नाममा राजनीति गर्न सुरु गरेको आरोप लगाए। मेयर मण्डल र उपमेयर झा दुवैले बुवाको नाममा आफूअनुकूल राजनीति गरे पनि आफूहरुलाई त्यो सह्य नहुने उपेन्द्रको भनाइ छ।
मेयर र उपमेयर एकअर्काविरुद्ध जाहेरी दर्ता गराउँदै उम्किन खोजेको तथा मेयर मण्डलले जाहेरी फिर्ता लिन दबाब दिन थालेको उपेन्द्रले बताए। 'मेयरले मृतक बुवालाई शहिद घोषणा गर्ने र उचित क्षतिपूर्ति दिलाउने आश्वासनसमेत दिन थालेका छन्,' उनले भने।
झडपका क्रममा तैनाथ सशस्त्र प्रहरी।उपमेयर झाले भने जाहेरी फिर्ता नलिन दबाब दिने गरेकी परिवारजनको भनाइ छ।
मृतक मण्डल साधारण किसान थिए। उनका ३ छोरा र १ छोरी छन्। उनका जेठा छोरा रामदेव मण्डल वैदेशिक रोजगारीमा छन् भने माइला र कान्छा छोरा गाउँमै कृषि काम गर्छन्। उनीहरुको ५ कठ्ठा जग्गा छ।
बघचौडावासी अझै संशंकित
साउन २१ गते मंगलबारे हटियाको दिन भएको झडपबारे अझै पनि कोही खुलेर कुरा गर्न चाहँदैनन्। अहिले पनि गाउँमा भिड वा समूहमा मान्छे देखिए भने बघचौडावासी संशकित हुने गरेका छन्।
बघचौडाको श्री उच्च माध्यामिक विद्यालयअगाडि भएको झडपमा महिला र बालबालिकासमेत घाइते भएका थिए। स्थानीय रामचन्द्र साहका अनुसार स्वयम् उनी पनि झडपमा घाइते भएका थिए।
बिहान ११ बजे ट्याक्टर लिएर बघचौडास्थित हंसपुर नगरपालिका कार्यालयको भौतिक सामाग्री लिन आएका मेयर मण्डल पक्षधरहरु र उपमेयर झा पक्षबीच झडप भएको थियो।
मेयर मण्डल बेल्हिचोकमा नगरपालिकाको केन्द्र सार्न चाहन्छन् भने उपमेयर झा साविक कै बघचौडामा केन्द्र कायम गर्न चाहन्छिन्। यही विषयलाई लिएर उत्पन्न विवादले अहिले उग्ररुप लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।