काठमाडौं- नेपाल धितोपत्र बोर्डले ‘सिडिएस एन्ड क्लियरिङ लिमिटेड’ (सिडिएससी)लाई अघिल्लो आर्थिक वर्षमा दिएका निर्देशनहरु कार्यान्वयन भए/नभएकाबारे जानकारी गराउन निर्देशन दिएको छ।
बोर्डले आर्थिक वर्ष २०७४/०७५ मा सिडिएससीलाई दिएको निर्देशन, मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृतिहरुको समग्र मूल्यांकनका विषयमा भएको प्रगतीबारे ७ दिनभित्र जानकारी गराउन भनिएको हो।
त्यसैगरी, वित्तीय स्थायित्व एवं लगानीका लागि श्रोत व्यवस्थापनसम्बन्धी सुझाव समितिले कार्यान्वयन गर्न भन्दै दिएका सुझावहरु कार्यान्वयन भए/नभएको बारे पनि बोर्डले सिडिएससीसँग जवाफ मागेको छ।
‘हाल धितोपत्र कारोबारपछि तीन दिन भित्रमा राफसाफ टि-प्लस ३ चक्रलाई एक दिनभित्रै अर्थात टि-प्लस १ मा ल्याउने सम्बन्धमा सिसिएससीले के गरिरहेको छ?,’ बोर्डले भदौ २६ गते पठाएको पत्रमा भनिएको छ। त्यसैगरी, धितोपत्रको दोश्रो बजारका कारोबारको भुक्तानी सुनिश्चितताका लागि आवश्यक राफसाफ कोष (सेटलमेन्ट गारेन्टी फन्ड)लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा पनि सिडिएससीलाई प्रश्न गरिएको छ।
सेयर बजारमा हुने कारोबारलाई थप प्रभावकारी बनाउन सेटलमेन्ट बैंक, सिडिएसएल, डिम्याटको सेवा दिने मर्चेन्ट बैंकरहरुसँग नेप्सेको अनलाइन ट्रेडिङ प्रणालीलाई व्यवस्थित बनाउन सिडिएससीले गरिरहेको कामका बारेमा पनि बोर्डले चासो देखाएको छ। सो विषयमा पनि जानकारी गराउन बोर्डले भनेको छ।
लगानीकर्ताले पछिल्लो समय उठाइरहेको विषय भारित औसत विधिबाट पुँजीगत लाभकर गणनाका लागि पनि सिडिएससीले कसरी सहजीकरण गरिरहेको छ भन्ने विषयमा जानकारी गराउन पनि बोर्डले पत्रमा उल्लेख गरेको छ।
‘लगानीकर्ताहरु धितोपत्र दलाल व्यवसायीको कार्यालयमै गएर धितोपत्र खरिद मूल्य प्रमाणित गर्नुपर्ने व्यवस्था झन्जटिलो देखिएको भनि लगानीकर्ताहरुबाट गुनासो आएको सन्दर्भमा हालको व्यवस्था थप सरल तथा सहज बनाउनका लागि तत्काल कार्यान्वयन गर्नुपर्ने गरी दिइएको उक्त निर्देशनको सम्बन्धमा के-कति प्रगति भएको छ? त्यसको जानकारी गराउन अनुरोध छ,’ बोर्डले पठाएको पत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।