काठमाडौं- आन्दोलनरत मेलम्ची खानेपानी आयोजनाका श्रमिक र खानेपानी तथा सरसफाई मन्त्रालयबीच सहमति जुटेको छ। आइतबार खानेपानी मन्त्रालयमा भएको छलफलमा श्रमिकलाई उनीहरुले पाउनुपर्ने सेवा सुविधा दिन सरकार तयार भएपछि सहमति जुटेको हो।
सहमतिअनुसार नेपाली श्रमिकलाई राहतस्वरुप उपलब्ध हुने रकममा अन्य कुनै शीर्षकको रकम छुटेको भए श्रमिकले प्रमाण पेश गर्ने र प्राविधिक समितिले त्यसको अध्ययन गरी दुई महिनाभित्र यसको टुंगो लगाउनुपर्ने सहमति भएको छ।
यसैगरी नेपाली श्रमिकहरुलाई दिइने राहतस्वरुपको रकम पाउनुपर्ने श्रमिकका प्रतिनिधिहरुबाट दावी गरेका मध्ये ८२८ मध्येबाट छुटेका श्रमिकले पाउनुपर्ने रकमको प्रमाणसहित प्राविधिक समितिमा एकमुष्ट निवेदन दिने र प्राविधिक समितिले २ महिनाभित्र रकम उपलब्ध गराउन सिफारिस गर्ने सहमति पनि भएको छ।
यसैगरी विरोध प्रदर्शनमा घाइते भएका श्रमिकको निशुल्क उपचारको व्यवस्था सरकारले गर्ने सहमति पनि जुटेको छ। श्रमिकले आयोजनाको काम अघि बढाउन दिने र जारी बन्द हड्ताल अन्त्य गर्ने तथा सम्पूर्ण आन्दोलन आजैबाट स्थगित गर्ने सहमति पनि जुटेको छ।
इटालियन कम्पनी सिएमसी डे रेभेन्नाले नेपाल छाडेर हिँडेपछि अलपत्र परेका श्रमिकहरु आफ्नो पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका थिए। आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।