सोल- दक्षिण कोरियाली पर्व छुसकको अवसर पारेर यहाँको राजधानी सोलमा दुई दिनको बीचमा डेढ दर्जनभन्दा बढी नेपाली सांस्कृतिक कार्यक्रम हुने भएका छन्। यहाँ कार्यरत नेपालीहरुले गठन गरेका विभिन्न संघसंस्थाहरुले आयोजना गरेका उक्त कार्यक्रमहरुमा नेपालबाट मात्रै नाम चलेका ५ दर्जन कलाकार कोरिया आउन लागेको आयोजक संस्थाहरुले जानकारी दिएका छन्।
यी कार्यक्रमहरु आगामी सेप्टेम्बर १२ र १३ का दिन (बिहीबार र शुक्रबार) हुनेछ।
विगतका वर्षहरुमा यहाँका नेपालीहरुको माउ संस्था मानिँदै आएको एनसिसी कोरियाले निश्चित संस्थाहरुलाई कार्यक्रम गर्न पाउने भन्दै अनुमति दिने गरेको थियो। तर केही वर्षयता भने उक्त संस्थाभन्दा बाहिर पनि विभिन्न समूहले कार्यक्रम गर्दै आएका छन्।
यस वर्ष एनसिसीले ५ संस्थालाई ३ वटा मात्र कार्यक्रम गर्न अनुमति दिएको छ। यसबाहेक अन्य कार्यक्रमहरु भने सबैले आफ्नै तरिकाले गर्न लागेको संस्थाको भनाइ छ।
यसअघि एनसिसीबाट अनुमति पाएका ५ संस्थाले आफूहरुले बाहेक अन्यले संस्थाले आफूखुसी गर्ने कार्यक्रमलाई सहयोग नगर्न भन्दै यहाँका नेपालीसँग अपिल गर्दै विज्ञप्ति नै प्रकाशित गरिसकेका छन्।
![](https://nepallive.com/uploads/files/69845498_474907213240850_7272287708473458688_n.jpg)
एनसिसीले अनुमति दिएका कार्यक्रमहरुमा बिहीबार दोलखा, रामेछाप र सिन्धुपाल्चोक समाजको संयुक्त कार्यक्रम ‘मंगोलियन हर्ट लाईभ कन्सर्ट’, शुक्रबार तमु धिँ दक्षिण कोरियाको ‘चौथो रोधी सांगीतिक सौगात’ र शुक्रबार नै सुदूरपश्चिम समाजको ‘सेती महाकाली सांगीतिक सौगात भाग-३’ रहेका छन्।
त्यस्तै एनसिसीबाहेक अन्य संस्थाहरुले गर्न लागेका कार्यक्रममा नेपालीका लागि नेपाली नामक संस्थाको शुक्रबार ‘कोइनसर्ट छुसक महाधमाका २०१९’, बिहीबार धनकुटा सेवा समाजको ‘धनकुटा सांस्कृतिक सौगात भाग-१’, शुक्रबार पाँचथर सेवा समाजको ‘पाँचथर सांस्कृतिक सौगात भाग-१’ लगायत अन्य समूहका कार्यक्रहरु हुँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।