पूर्वाधार विकासबाटै आर्थिक वृद्धि सम्भव : डा बाबुराम भट्टराई

नेपाल लाइभ | २०७६ भदौ २५ बुधबार | Wednesday, September 11, 2019 १६:१३:०० मा प्रकाशित

फाइल तस्बिर


काठमाडौं- पूर्व प्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले पूर्वाधार विकासबाट मात्र आर्थिक वृद्धि संभव भएको बताएका छन्। बुधबार काठमाडौंमा सुरु भएको नेपाल पूर्वाधार सम्मेलनमा उनले यस्तो बताएका हुन्। 

सम्मेलनको प्रथम सत्रमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थलमा निजी क्षेत्रले लगानी साझेदारी गर्न सक्ने बताए। द्रुतमार्गसँग जोडेर विमानस्थलमा लगानी गर्न उनले निजी क्षेत्रलाई आग्रह गरे। 

अहिले काठमाडौंकेन्द्री सहरीकरण विकेन्द्रीकरण गर्न कम्तीमा तराइ मधेशसँग जोड्नुपर्ने भन्दै भट्टराईले तराइ क्षेत्रमा सहरीकरण बढाउन सकिने बताए। अन्य पूर्वाधार आयोजनामा अहिले नै निजी क्षेत्रले लगानी गर्न सक्ने सामर्थ्य बनाइ नसकेको उनको भनाइ छ। 

‘हामीले सुरुङमार्ग बनाउन निजी क्षेत्रलाई दिएका हौं, तर त्यो बन्न सकेन,’ उनले भने, ‘यसले हाम्रो निजी क्षेत्र अहिले पूर्वाधार परियोजनामा लगानी गर्न सक्ने अवस्थामा नपुगेको देखाउँछ।’ 

भट्टराईले बजारको विकास गर्न हरेक गाउँ सडक सञ्जालले जोड्नुपर्ने बताए। तराईमा निर्माणाधीन हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माण सम्पन्न गर्ने र प्रकृतिले नै दिएको कोशी, गण्डकी र कर्णाली बेसिनका अधारमा उत्तर दक्षिण राजमार्ग निर्माण गर्न सरकारले पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। 

कम्तीमा विकासोन्मुख अर्थतन्त्रमा स्तरोन्नति हुन नसक्दासम्म सरकारले नै पूर्वाधारमा लगानी गर्नुपर्ने उनले जोड दिए। 

अहिले विश्व चौंथो औद्योगिक क्रान्तिका चरणमा रहे पनि नेपालले पहिलो औद्योगिक क्रान्तिसम्म गर्न नसकेको भट्टराईको ठहर छ। अहिले पनि निर्वाहमुखी कृषिमा आधारित अर्थतन्त्र भएकाले यसलाई उद्योग र सेवा व्यवसायमा आधारित बनाउन सरकारले पूर्वाधार निर्माण र बजारीकरणको विकासमा काम गर्नुपर्ने उनको तर्क छ। 

'निजी क्षेत्रले अहिलेको अवस्थामा ऊर्जामा लगानी बढाउने प्रशस्त सम्भावना छ। भारत र चीनदेखि भुटान र बंगलादेशसम्म बजारीकरण गर्न क्षेत्रीय कनेक्टिभिटीमा ध्यान दिनुपर्ने बेला आएको छ,' उनले भने। 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले पछिल्लो समय नेपालले श्रम ऐनदेखि विदेशी लगानी तथा प्रविधी हस्तान्तरण ऐनलगायत थुप्रै कानुनी सुधार गरेर लगानीको वातारण सुधार्न प्रयास गरेको बताए। 'डुइङ बिजनेस'लाई सुधार गर्न नीतिगत र प्रकृयागत सुधारमा लागिएको उनले उल्लेख गरे। 

भारत, चीन, अमेरिका, नर्वेजस्ता मुलुकका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको र अरु मुलुकका लगानीकर्ता पनि निरन्तर परियोजनाबारे छलफलमा आइरहेको उनले बताए। 

कार्यक्रममा एसियाली विकास बैंकका महानिर्देशक वुचोङ उमले विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनका प्रभाव दृष्टिगत गरी त्यस्तो अवस्थामा पनि उपयुक्त हुने पूर्वाधार निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए। 

संयुक्त राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्य र नेपालले समृद्धि लक्ष्यलाई जोड्न समुदायमा आधारित पुर्वाधार विकासमा ध्यान दिन उनले आग्रह गरे। उनले ज्ञान, सीप, पैसा र प्रविधि लगानी गर्न सरकार र निजी क्षेत्रले सामूहिक प्रयास गर्न सक्ने उनको सुझाव थियो। 

नवीनतम प्रविधिको उत्पादन र उपयोग गर्नुका साथै यातायात पूर्वाधार र शैक्षिक क्षेत्रमा लगानी बढाउन उनको आग्रह छ। एडीबीले नेपालमा पूर्वाधारको क्षेत्रमा लगानी बढाउँदै गएको र त्यसलाई निरन्तरता दिने बताए। 

कार्यक्रममा सिएनआईका उपाध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्व राजश्व सचिव लालशंकर घिमिरे, रकभिल्ड टेक्नोलोजी, अस्ट्रेलियाका सिइओ गोविन्द पाण्डे, एडीबीका पूर्व उपाध्यक्ष डा बिन्दु लोहनीलगायतले पछिल्लो समय नेपालमा लगानीको वातारण सुधार भइरहेको र लगानीका नयाँ विकल्पहरुको बारेमा छलफल बढ्दै गएको बताएका थिए। 

भारतलगायत मुलुकले अघि सारेका सार्वजनिक निजी साझेदारीका समस्याहरुबाट सिकेर अघि बढ्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।