काठमाडौं- दशैं, तिहार र छठ पर्व लगायतका चाडलाई लक्षित गर्दै सरकारले सहुलियत पसल सञ्चालनमा ल्याएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा साल्टट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्था (डिडिसी) ले सोमबारबाट सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएका हुन्। सहुलियत मूल्य पसल मुलुकभरिका ७३ स्थानमा सञ्चालनमा आउनेछन्।
साल्टट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकाका ११ वटा र उपत्यका बाहिरका २४ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउनेछ। त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकामा ५ स्थानमा र उपत्यका बाहिर १८ स्थानमा गरी कुल २३ वटा स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ।
डिडिसीले उपत्यकाभित्रका ४ स्थान र उपत्यकाबाहिर ११ स्थान गरी १५ वटा सहुलियत पसल सञ्चालनमा ल्याउनेछ।
उपत्यकाभित्र सञ्चालनमा आउने यस्ता पसलहरु कालिमाटी, कोटेश्वर, टेकु, रामशाहपथ, सतुंगल, ललितपुर, भक्तपुर लगायतका स्थानमा रहनेछन्।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार सहुलियत पसलमा चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा प्रतिकिलो २ रुपैयाँ, घिउमा प्रतिकिलो ५० रुपैयाँ, खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइनेछ।
सहुलियत पसल कात्तिक १६ गतेसम्म सञ्चालनमा रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।