काठमाडौं– काठमाडौं उपत्यकामा आजबाट विद्युतीय बस सञ्चालनमा आएको छ। सार्वजनिक रुपमा प्रयोग हुने विद्युतीय बसको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका हुन्।
सुन्दर यातायात प्रालिले चीनबाट ल्याएका दुई विद्युतीय बसमार्फत सेवा सुरु गरेको हो।
सुरुमा २ वटा विद्युतीय बसबाट सेवा सुरु गर्न लागेको सुन्दर यातायात प्रालिले थप ५ वटा ल्याउने प्रक्रियामा रहेको जनाएको छ। सरकारले समेत काठमाडौंलगायत विभिन्न सहरमा विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरिसकेको छ।
सुन्दर यातायातले सञ्चालन गर्ने विद्युतीय बसले चक्रपथ परिक्रमा गर्नेछ। काठमाडौंको चक्रपथ परिक्रमा गर्ने गरी रुट अनुमति पाएको कम्पनीका भेषबहादुर थापाले बताए। कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ। यो वर्षभत्रै कम्पनीले २५ वटा बस काठमाडौंमा चलाउने गरी प्रक्रिया अघि बढाइएको अध्यक्ष थापाले जानकारी दिए।
सुन्दर यातायातले ल्याएका विद्युतीय बस नेपाली बाटो अनुकुल रहेको दाबी कम्पनीको छ। यसका लागि कम्पनीले बस ल्याउनुभन्दा पहिले नै अध्ययन गरेको थियो। सुन्दरले ल्याएका बस ४० सिट क्षमताका छन्। कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी ३ किसिमका बस ल्याउने तयारी गरेको छ।
कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने दाबी गरेको छ। त्यसका लागि फास्ट चार्जिङ मेसिन ल्याइने छ। हाल कम्पनीको भत्केको पुलमा रहेको चार्जिङ स्टेसनमा २ घन्टामा फूल चार्ज हुने मेसिन जडान गरिएको छ। सुन्दर यातायातले गत साता आफ्नो चार्जिङ स्टेसने उद्घाटन गरिसकेको छ।
कम्पनीका अनुसार विद्युतीय बसमा यात्रा गर्नेले स्मार्ट यात्रा कार्डमार्फत् भाडा तिर्न सक्नेछन्। यो प्रणाली हाल परीक्षणका क्रममा छ।
सुन्दरले ल्याएका बस चिनियाँ कम्पनी बिएकेले उत्पादन गरेको हो। बिएकेले उत्पादन गरेका विद्युतीय बस सुन्दर यातायातले प्रति एकाई १ करोड ६२ लाख रुपैयाँमा खरिद गरेको हो।
विद्युतीय बसको सञ्चालन खर्च कम हुन्छ। डिजेलबाट चल्ने बसको तुलनामा विद्युतीय बसको सञ्चालन खर्च सस्तो हुन्छ। त्यसैले सुन्दर यातायातले हाल काठमाडौंमा डिजेल बसले लिने भाडाभन्दा कम भाडामा यातायात सेवा दिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।