काठमाडौं- नेपाल राष्ट्र बैंकले हाल कार्यान्वयनमा रहेको इलेक्ट्रिक चेक क्लियरिङ अपरेटिङ रुल्स, २०११ (संशोधन २०१५) तथा इन्टर बैंक पेमेन्ट सिस्टम अपरेटिङ रुल्स २०१५ मा संशोधन गरेको छ।
नयाँ संशोधन अनुसार इलेक्ट्रिक चेक क्लियरिङका लागि मध्याह्न १२ बजेदेखि १ बजेसम्मका लागि थर्ड एक्स्प्रेस प्रिजेन्टमेन्ट टाइम भनेर छुट्याइएको समयलाई हटाएको छ। बाँकी व्यवस्था भने यथावत् राखिएको छ।
बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म रहेको नियमित समयलाई बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म बनाइएको छ।
त्यसैगरी रिप्लाई टाइम दिउँसो २ बजेदेखि ३ बजेसम्म रहेकोमा त्यसलाई संशोधन गरी दिउँसो साढे १ देखि ३ बजेसम्म बनाइएको छ।
पहिलो एक्सप्रेस सेसन र दोश्रो एक्सप्रेस सेसनमा हाल रहेको लेट प्रिजेन्टमेन्टको व्यवस्था हटाइएको छ।
त्यसैगरी, अन्तरबैंक भुक्तानी (आइपिएस) को समयमा पनि परिमार्जन गरिएको छ।
यसअघि दिउँसो १ बजेदेखि २:४५ बजेसम्म एक्सचेञ्ज सेसन रहेकोमा अब १ बजेदेखि ३ बजेसम्मको समय छुट्याइएको छ।
रिप्लाई टाइम भनेर २ : ४५ देखि ३ बजेसम्मको अवधिलाई १ बजेदेखि सवा ३ बजेसम्म बनाइएको छ। साविकको व्यवस्थाअनुसार ३ बजेदेखि सवा ३ बजेसम्मका लागि छुट्याइएको सेटलमेन्ट टाइम परिमार्जन गरी सवा ३ बजेदेखि साढे ३ बजेसम्म बनाइएको छ।
एक्सचेञ्ज सेसन ३ (शुक्रबार) को प्रिजेन्टमेन्ट टाइम, रिप्लाई टाइम र सेटलमेन्ट टाइमसम्बन्धी यसअघि व्यवस्था गरिएको थिएन। शुक्रबार अन्तरबैंक चेक क्लियरिङको समय निर्धारणसम्बन्धी कुनै व्यवस्था नरहेकोमा यस्तो व्यवस्था थपिएको छ।
संशोधित व्यवस्थाअनुसार शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्मको अवधिलाई एक्सचेञ्ज सेसन, ११ बजेदेखि साढे १२ सम्मलाई रिप्लाई सेसन र साढे १२ देखि १ बजेसम्मलाई सेटलमेन्ट टाइम बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।