काठमाडौं- रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस)बाट भुक्तानी कारोबार गर्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ। शुक्रबार राष्ट्र बैंकले चार दिनभित्र सबै वाणिज्य बैंकहरूलाई उक्त काम गरिसक्न निर्देशन दिएको हो।
राष्ट्र बैंकबाट संचालन हुने आरटिजिएस प्रणालीमा 'क'वर्गका बैंकहरूले प्रत्यक्ष सहभागी (डाइरेक्ट पाटिसिपेन्ट) भई कारोबार गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैकले जनाएको छ। सोबमोजिम भदौ १९ गतेबाट आरटिजिएस प्रणालीसँग सम्बन्धित नियमसमेत जारी भइसकेको छ। उक्त नियमअनुसार आन्तरिक व्यवस्था र पार्टिसिपेन्ट एग्रिमेन्टसम्बन्धी सम्पूर्ण कार्य भदौ २४ गतेभित्र गरिसक्न राष्ट्र बैंकले निर्देशन दिएको हो।
विकास बैंक र वित्त कम्पनीहरूका हकमा भने क्रमिक रूपमा दोश्रो चरणमा आरटिजिएस प्रणालीमा सहभागी गराउने तयारी भइरहेको राष्ट्र बैंकले जनाएको छ। '‘ख' र 'ग' वर्गका वित्तीय संस्थाहरूले आफ्नो व्यवसायको आवश्यकताअनुसार प्रत्यक्ष वा अप्रत्यक्ष सहभागी हुन आरटिजिएस सिस्टम रुल्समा भएको व्यवस्थाअनुसार आवेदन दिनुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।
आरटिजिएस सिस्टममा प्रत्यक्ष सहभागी भएका बैंक तथा वित्तीय संस्थाले स्ट्रेट थ्रु प्रोसेसिङ (एसटिपी)मार्फत कारोबार संचालन गर्नुपर्नेछ। आरटिजिएस प्रणाली मार्फत् आबद्ध भएका सदस्य बैंक तथा वित्तिय संस्थाहरुबीच ठूलो रकमको कारोबारहरु र राष्ट्रिय भुक्तानी प्रणालीहरुका अन्तिम फछ्र्यौटका कार्य हुने गर्दछ।
हाल केही बैंक वित्तीय संस्थाहरु एसटिपी लागू गर्ने चरणमा रहेकोमा त्यस्ता संस्थाको हकमा आरटिजिएस प्रणालीको टिएमएस-एक्स (वेभ सर्भिस)मार्फत् म्यानुअल बेसिसमा कारोबार संचालन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।