काठमाडौं- उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले पैत्रिक सम्पत्तिमा कर लगाए त्यसले गम्भीर विकृति निम्त्याउने चेतावनी दिएका छन्।
आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै चौधरीले पैत्रिक सम्पत्तिको हस्तान्तरणमा समेत कर लगाउने कुरा आफूले सुनेको र त्यो खालि गफमात्रै होला भन्ने आशंका जनाए।
'पैत्रिक सम्पत्तिमा लगाइने करले एउटा गम्भीर विकृति निम्त्याउने कुरा निश्चित छ,' उनले भने, 'आफ्नो परिवारका सदस्यलाई समेत सम्पत्ति हस्तान्तरण गर्दा यदि कर तिर्नुपर्ने स्थिति आयो भने नयाँ सामाजिक चुनौती थपिने कुरा निश्चित छ।'
अर्थमन्त्रीले राजस्वको नयाँ-नयाँ प्रयोगको मारमा उद्योगी र व्यवसायी धराशायी नहुन् भन्दै सरकारको ध्यानाकर्षण गराए।
चौधरीले अहिले ७ सय ५३ वटा स्थानीय सरकारलाई पैसा चाहिएको र त्यो पैसा पुर्याउनका लागि अर्थमन्त्रीलाई कर लगाउने नयाँ-नयाँ उपायहरु खोज्नुपर्ने बाध्यता रहेको टिप्पणी गरे। 'करलाई उत्पादनसँग जोड्न सकिएन भने, व्यापारलाई प्रतिस्पर्धी बनाउन सकिएन भने हामीले प्रस्तुत गरेका योजनाहरु केवल काजगमा सीमित हुने निश्चित छ', चौधरीले भने।
उनले नेपालमा प्रस्तुत गरिएको करका दरले नेपालको निर्यात क्रमशः घट्ने किसिमबाट अगाडि बढिरहेको उनको भनाइ छ। 'त्यसलाई पुनरावलोकन गरियोस्,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।