काठमाडौं- उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत सइद हमदान अल नकेईबीच भेटवार्ता भएको छ। भेटवार्तामा द्धिपक्षीय र आपसी सम्बन्धका विषयमा छलफल भएको थियो।
छलफलमा मन्त्री पुनले नेपालको उर्जा क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण बनेको भन्दै युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रेरित गरिदिन आग्रह गरे। उनले दुई देशबीचको सम्बन्ध घनिष्ठ रहेको भन्दै आगामी दिनमा समेत थप सुमधुर भएर अघि बढ्ने विश्वास व्यक्त गरे।
भेटमा राजदूत सहिदले उर्जा क्षेत्रमा सरकारसँग काम गर्न युएई इच्छुक रहेको धारणा व्यक्त गरे। उनले युएईले पनि तेल र ग्यासको सट्टा उर्जामा ध्यान केन्द्रित गर्न लागेको जानकारी दिंदै नेपालमा पनि लगानीको लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाए।
२४औं विश्व उर्जा सम्मेलनमा भाग लिन युएई भ्रमणमा जान लागेका मन्त्री पुनलाई राजदूत सहिदले आइतबार सिंहदरबारस्थित उर्जा मन्त्रालयमै पुगेर कार्यक्रमको बारेमा जानकारी गराएका थिए।
उर्जामन्त्री युएई भ्रमणमा जाने
उर्जामन्त्री पुन युएईको तीन दिने भ्रमणमा जाँदै छन्।
युएईमा आयोजना हुन लागेको २४औं विश्व उर्जा सम्मेलनमा भाग लिन मन्त्री पुन आइतबार साँझ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। सम्मेलनमा ७० मुलुकका उर्जामन्त्रीहरुको सहभागिता हुनुको साथै विश्भरबाट ५ सयभन्दा बढी कम्पनीका कार्यकारी अधिकृत र २ सय ५० जना वक्ताहरुको सहभागिता रहनेछ।
१ सय ५० देशको सहभागिता रहने उक्त सम्मेलनमा तेल, ग्यास, जलविद्युत, पूर्वाधार, उर्जा उत्पादन, वैकल्पिक उर्जा, नविकरणीय उर्जा र ग्रिड प्रविधिको विषयमा छलफल हुनेछ। मन्त्री पुनले सम्मेलनमा सम्बोधनसमेत गर्दैछन्।
उनी भदौ २६ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।