काठमाडौं- नेपालको प्रचलित कानुनअनुसार तास खेल्नु सामाजिक अपराध हो। तर, विभिन्न चाडपर्व (विशेष गरी दसैं र तिहारमा), साथीभाइसँगको जमघट, उत्सव, पिकनिकजस्ता कार्यक्रममा तास खेल्नु सामान्य जस्तै भइसकेको छ।
के तपाईं हामीलाई थाहा छ, प्रत्येक २ जना नेपालीले औसतमा १ प्याकेट तास प्रयोग गरिरहेका छन् भनेर?
भन्सार विभागको तथ्यांकले त्यही भन्छ। गत आर्थिक वर्ष २०७५/०७६ मा मात्रै १ करोड ५७ लाख २५ हजार ५ सय २१ प्याकेट तास आयात भएको छ। यसरी तास आयातमा नेपालबाट २५ करोड ६ लाख ६२ हजार रुपैयाँ बाहिरियो भने ११ करोड २७ लाख २१ हजार रुपैयाँ भन्सार राजश्व संकलन भएको विभागको तथ्यांकले देखाउँछ।
अहिले नेपालको जनसंख्यालाई ३ करोड मान्दा त्यसको आधाभन्दा बढी संख्यामा तासका प्याकेट वार्षिक रुपमा नेपालमा प्रयोग भइरहेका छन्। चालु आर्थिक वर्षको साउन महिनामा मात्र २ करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबरका २० लाख ७४ हजार ४ सय ५३ प्याकेट तास नेपाल भित्रिएको छ।
भन्सार विभागको तथ्यांकअनुसार नेपालमा तास आयातको तथ्यांक बढ्दो क्रममा छ। आर्थिक वर्ष २०७४/०७५ मा नेपालमा १४ करोड ६५ लाख ६२ हजार रुपैयाँ बराबरका १ करोड १५ लाख ९७ हजार प्याकेट तास आयात भएको देखिन्छ। उक्त तथ्यांकलाई आधार मान्दा दुई वर्षअघि वार्षिक रुपमा औसत ३ जना व्यक्तिले १ प्याकेट तास प्रयोग गरिरहेका थिए।
त्यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा १८ करोड ७० लाख ४१ हजार रुपैयाँ बराबरका १ करोड ४४ लाख ९ हजार ६ सय प्याकेट तास आयात भएको थियो।
कोही रमाइलोका लागि तास खेल्छन् भने कोही बानीको रुपमा आफ्नो जीवनभरको कमाइ दाउमा लगाइरहका हुन्छन्। केही व्यक्तिहरुले आफ्नो सर्वस्व नै गुमाएको पनि हामी समाचार पढ्दै र सुन्दै आएका छौं। तर, हामीमध्ये थोरैलाई मात्र हेक्का छ कि तासबाट नै हाम्रो वार्षिक रुपमा करोडौं रुपैयाँ विदेश गइरहेको छ।
नेपालले चीन, भारत, मलेसिया, ताइवान, बेलायत र अमेरिकालगायत मुलुकबाट तास आयात गर्छ। नेपालमा तास सबैभन्दा धेरै चीनबाट आयात हुन्छ। भन्सार विभागको गत आर्थिक वर्षको तथ्यांकमा चीनबाट मात्र १२ करोड ६१ लाख ५० हजार रुपियाँ बरबरका १ करोड ११ लाख ३ हजार प्याकेट तास नेपाल भित्रिएको छ। त्यस्तै, अमेरिकाबाट गत आर्थिक वर्षमा १ करोड २८ लाख ५३ हजार रुपियाँ बराबरका ३ लाख ५४ हजार ५ सय ४५ प्याकेट तास आयात भएको छ।
तास खेल्ने खेलाउनेलाई 'जुवा ऐन २०२०', 'जुवा वा सट्टाबाजी खेल्ने वा खेलाउने कार्य नियन्त्रण गर्न बनेको विधेयक २०७०'ले कानुनी कारबाहीको समेत व्यवस्था गरेको छ भने उक्त कार्य गैरकानुनी र सामाजिक अपराध रहेको ठहर समेत गरेको छ।
ऐनले 'जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको खेल भन्ने सम्झनु पर्दछ' भनी व्याख्या गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।