काठमाडौं- नेपाल स्टक एक्सचेन्ज नेप्सले दुई जीवन बीमा कम्पनीलाई स्पष्टीकरण सोधको छ।
आर्थिक वर्ष २०७५/७६ को लाभांश र बोनस सेयर जारी गर्दा अपुष्ट सूचना सम्प्रेषण गरेको भन्दै नेप्सेले शुक्रबार यी दुई जीवनबीमा कम्पनीलाई स्पष्टीकरण सोधेको हो।
प्राइम लाइफ इन्स्योरेन्सले २०७६ भदौ १९ गते विशेष साधारणसभा तथा दाखेल खारेज सम्बन्धमा भन्ने व्यहोराको पत्र पठाए पनि त्यसमा आर्थिक वर्ष कुन हो भन्ने कुरा नखुलेपछि स्पष्टीकरण सोधिएको हो।
‘बोनस सेयर र नगद लाभांश प्रस्तावसहित नेप्सेलाई उपलब्ध गराइएको सूचनामा आर्थिक वर्ष के कति कारणले उल्लेख नगरिएको हो? सोको जवाफ तीन दिनभित्र पेश गर्न निर्देशानुसार अनुरोध छ,’ नेप्सेले ती २ कम्पनीलाई पठाएको पत्रमा भनिएको छ।
त्यसैगरी, नेसनल लाईफ इन्स्योरेन्सले बोनस सेयर र नगद लाभांश प्रस्तावको सूचना जारी गर्दा उक्त कम्पनीको संचालक समितिको बैठक कहाँ र कुन मिति, समयमा बसेको भन्ने कुरा स्पष्ट रूपमा नखुलेपछि स्पष्टीकरण सोधिएको नेप्सेले जनाएको छ।
नेसनल लाइफलाई पनि तीन दिनभित्र जवाफ पठाइसक्न नेप्सेले निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।