काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सामग्री देशभित्रै उत्पादन गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्। नेपालभित्रै विद्युतीय सामाग्री उत्पादन गर्दा सरकारले संरक्षण दिने अर्थमन्त्री खतिवडाको भनाई छ।
नेपाल विद्युतीय व्यवसायी महासंघको दशौं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले धरायसी उपकरण मात्र नभई औद्योगिक र व्यवसायिक विद्युतीय उपकरण पनि नेपालभित्रै उत्पादन गर्नुपर्ने र त्यसका लागि सरकार सहयोग गर्न तयार रहेको बताएका हुन्।
‘विद्युतीय सामग्री नेपालमा उत्पादन हुन्छन् भने हामी संरक्षण दिन्छौं। त्यस्तो संरक्षण दिनलाई सरकारले सबै उपाय अपनाउँछ। आयातमा भन्सार लगाउन सकिन्छ। भन्सार सस्तो भयो भने मूल्यांकन पनि बढाउँछौं। त्यतिले पनि पुगेन भने अन्तःशुल्क लगाउन सक्छौं र मूल्य अभिवृद्धि कर त लगाउने नै भयौं,’ अर्थमन्त्री खतिवडाले भने।
अर्थमन्त्री खतिवडाले विद्युत उत्पादन र वितरणमा नेपाल आन्तनिर्भर हुन लागिसकेको अवस्थामा विद्युतीय सामग्रीको उत्पादनमा पनि आत्मनिर्भर हुनुपर्ने धारणा राखेका छन्।
‘सरकारको आशय के हो भने यस्ता सामाग्री नेपालभित्रै उत्पादन गर्न प्रावधिक रूपमा ज्यादै जटिल छैनन्। विद्युतीय उपकरण मुलुकभित्रै उत्पादन गर्न आउनुहोस् भनेर आह्वान गरेको सरकारको सन्देशका रुपमा बुझिदिन अनुरोध गर्दछु,’ उनले भने।
नेपालभित्र उत्पादन हुने विद्युतीय सामग्रीमा सरकारको सानो सहयोगले थप उत्पादन गर्न सकिन्छ भनेर नीजि क्षेत्रले स्पष्ट कार्ययोजना बनाएर बुझाउन पनि खतिवडाले आग्रह गरेका छन्। ‘कस्ता कुरामा प्राविधिक तथा नीतिगत सहयोग चाहिन्छ र हामी थप आत्मनिर्भर हुन सक्छौं भनेर त्यसको कार्ययोजना लिएर आउनुहोस्। सरकार सहयोग गर्न तयार छ। अर्काको उत्पादनमा नाफा होइन हामी आफ्नै उत्पादनमा, आफ्नै व्यवसायमा नाफा गर्न सक्छौं,’ अर्थमन्त्री खतिवडाले भने।
नेपालको विद्युत उत्पादनसँगै त्यसको खपतमा पनि जोड दिनुपर्ने उनको भनाइ छ। पेट्रोलियम ऊर्जालाई विद्युतीय उर्जाका माध्यामबाट प्रतिस्थापन गर्न सरकारले निश्चित कार्ययोजना लिएर अगाडि बढेको खतिवडाले बताए। ‘हामीलाई छिट्टै एलपी ग्याँसको खपत घटाउनु छ। एक दुई वर्षमा नै त्यसको उत्पादन आधा गर्ने गरी तयारी गरिरहेका छौं,’ उनले भने।
विद्युतीय सामग्री बाहिरबाट आयात गर्ने र नेपालमा त्यसको व्यापार गर्दा व्यवसायीहरूले सहुलियत पाउने विषयमा आफूले सोच्न पनि नसक्नेसमेत खतिवडाले स्पष्ट पारे।
‘तपाईहरुको उज्ववल भविष्य छ। मुलुकभित्रै उत्पादन गर्नुहोला। उत्पादित वस्तु आयात गर्नका लागि सरकारले भन्सार घटाउने सम्भावना कम छ। सबैलाई सबैठाउँमा खुसी पार्न सकिदैन,’ अर्थमन्त्री खतिवडाले भने।
महासंघको वार्षिक साधारणसभाका प्रमुख अतिथि खतिवडाले व्यापारीहरूको आलोचना गर्न भने बाँकी छाडेनन्। ‘विद्युतीय सामग्री मात्रै कडा हुन्छ, चम्किलो हुन्छ भन्ने लागको थियो। तर तपाईहरु पनि विद्युतको व्यापार गर्दागर्दै करेन्ट प्रवाह गर्ने भईसक्नु भएछ। राम्रै झड्का दिनुहुँदो रहेछ, त्यो मैले महसुस गरे। यद्यपि त्यसको स्विच अन्तै हुन्छ,’ मन्त्री खतिवडाले कटाक्ष गर्दै भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।