सोल- दक्षिण कोरियाबाट गत ६ महिनाको अवधिमा ५६ हजार अवैधानिक कामदार स्वदेश फिर्ता भएका छन्।
बिना भिसा बसोबास गर्नेमध्ये १८ हजार ९ सय ७३ जनालाई प्रहरी पक्राउ गरी सम्बन्धित देश पठाएको थियो। ३६ हजार १ सय ९ जना अवैधानिक कामदर भने स्वेच्छाले स्वदेश फर्केका थिए।
कोरिया प्रवेश गर्न अयोग्य ठहराई विमान स्थलबाटै फिर्ता हुने विदेशीको संख्या ९ हजार ८ सय ९१ रहेको कोरियाली अध्यागमन विभागको आँकडा छ।
बिना भिसाका ५६ हजार कामदार स्वदेश फर्काइए पनि अवैधानिक कामदारको संख्यामा तुलनात्मक रुपमा अवैधानिक कामदारको संख्यामा कमी नआएको अध्यागमनले जनाएको छ।
फिर्ता भएकै अनुपातमा कार्यावधि सकिएका कामदार बस्ने गरेकाले अंक नघटेको प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले जानकारी दिए।
मासिक १२ देखि १३ हजारको दरले बिना भिसा बसोबास गर्ने विदेशीको संख्या वृद्धि भएको बताइएको छ।
जुलाई महिनासम्मको अध्यागमनको तथ्यांकअनुसार बिना भिसा बसोबास गर्ने विदेशीको संख्या ३ लाख ७० हजार ८ सय ८९ रहेको छ।
प्रवासी मजदुरका सम्बन्धमा लागू हुने कानुनी प्रावधान सुधार नगरेसम्म अवैधानिक विदेशीको संख्या नघट्ने राईको दाबी छ। उनले भने, ‘रोजगार अनुमति प्रणाली प्रतिस्थापन नगरे अवैधानिक कामदार घट्टैनन्। कानुन सुधार नगरे बढ्ने क्रम अन्त्य हुनेवाला छैन। दोष बस्नेलाई होइन, बस्न बाध्य गराउनेलाई दिँदा राम्रो हुन्छ।’
कामदार आपूर्तिका लागि कोरियाले अवलम्बन गरेको इपिएस प्रणाली कम्पनी मालिकमुखी भएको भन्दै मजदुर युनियनले आन्दोलन गर्दै आएका छन्।
कामदारलाई सहज कम्पनी परिवर्तन गर्न पाउनुपर्ने माग उठाएका छन्। विदेशी कामदारको कार्य अवधि ४ वर्ष १० महिनामा सिमित गर्न नहुने मजदुर संगठनको तर्क छ।
मजदुरमैत्री प्रणाली लागू गर्न विद्यमान इपिएसको स्थानमा वर्क परमिट प्रणाली लागू गर्न आवाज उठाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।