काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ५ प्रतिशत मात्रै भएपछि भारतमा अर्थतन्त्रको भविष्यमाथिको बहस बढिरहेको छ। स्वतन्त्र अध्ययन गर्ने भनिएका संस्थाहरुले सन् २०२० को मार्चसम्ममा देशको आर्थिक वृद्धिदर ६.३ प्रतिशतले बढ्ने प्रक्षेपण सार्वजनिक गर्न थालेका छन्, जुन उनीहरुले यसअघि सार्वजनिक गरेका अनुमानभन्दा ०.६ प्रतिशत विन्दूले कम हो।
भारतीय अनलाइनहरुमा प्रकाशित भएका लेखहरुमा पछिल्ला करिब ६ महिनायता अर्थतन्त्र विस्तारतको दर निकै सुस्त रहेको र यो अझै केही समय लम्बिन सक्ने आँकलन गरिएको छ। अर्थतन्त्रको संकट गहिरिँदै गएको आँकलन गरिएकै बेला पनि भारतीय सेयर बजार र विनिमय दरमा उल्लेखनीय गिरावट देखिएका छैनन्। सेयर बजारमा कारोबार भइरहेका कम्पनीहरुको सेयर मूल्य घट्ने भन्दा बढ्ने क्रम नै जारी छ।
अर्थतन्त्र कमजोर भएसँगै अमेरिकी डलरसँग भारतीय मुद्राको विनिमय दर पनि कमजोर हुने र यसबाट नकारात्मक प्रभाव देखिने भन्दै नेपाली मुद्रासँगको स्थिर विनिमय दर परिवर्तनको बहस फेरि उठ्न थालेको छ। भारतीय मुद्रासँगको स्थिर विनिमय दर परिवर्तनको पक्षमा रहेकाहरु पनि अहिले देखिएको एउटा झट्कालाई मात्रै हेरेर निर्णय लिन नहुने पक्षमा छन्।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भारतीय मुद्रासँगको स्थिर विनिमय दर परिवर्तनको निर्णय हतारमा गर्दा त्यसले अर्को दुर्घटना निम्त्याउन सक्ने बताउँछन्। 'स्थिर विनिमय दर चलाउँदा बजार दरमा आधारित हुनुपर्छ भनेर भन्न सक्नुपर्यो, त्यो भनेको कुनै न कुनै मुद्रासँग हामी जोडिनुपर्छ,' उनले भने, 'हाम्रो मुद्राको मूल्य कति हुने भन्ने कुरा त कुनै न कुनैको आधारमा गर्नुपर्छ, जुन मुद्रासँग हामी जोडिन्छौँ, उनीहरुको अगाडि हाम्रो मुद्रा बलियो हुने आधार नभएकाले यसलाई चलाउँदा नोक्सानी हामीलाई नै पर्न सक्छ।'
नेपालले मुद्रा बजारमा आफ्नो हैसियत बलियो देखाउन निर्यात व्यापारलाई प्रोत्साहन गर्नुपर्छ। तर, अवस्था भने त्यसको ठिक उल्टो छ। गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने नेपालले १४ खर्ब १८ अर्ब रुपैयाँको आयात गरेर ९७ अर्ब १० करोड रुपैयाँको मात्रै निर्यात गरेको छ। 'भारतीय अर्थतन्त्र ठूलो छ, तत्काल देखिएको मन्दी सधैँ खेप्न उनीहरुले पनि सक्दैनन्,' उनले भने, 'उनीहरुमा पनि नीतिगत परिवर्तन देखिन्छ, त्यसकारण एकैपटक परिवर्तन गरिहाल्नुपर्छ भनेर अघि बढ्न हुँदैन।'
नरेन्द्र मोदीले पहिलोपटक प्रधानमन्त्री हुँदा निकै महत्वका साथ घोषणा गरेका दुईवटा कार्यक्रमको प्रभाव अहिले देखिएको आँकलन पनि गरिएको छ। भारतमा अघिल्लो वर्षबाट लागू भएको 'गुड्स एन्ड सर्भिस ट्याक्स' (जिएसटी) र १००० र ५०० दरका भारतीय मुद्राको विमौद्रिकीकरण (डिमोनिटाइजेसन)को असर अहिले देखिएको विश्लेषण गरिएको छ।
दुईपटक भारतको प्रधानमन्त्री भएका वरिष्ठ अर्थशास्त्री मनमोहन सिंहले अहिलेको संकटले धेरैको रोजगारी संकटमा पारेको भन्दै समयमै सम्बोधन गर्न सरकारलाई चेतावनी दिइसकेका छन्। उनले अन्तर्राष्ट्रिय लगानीकर्ताको मनोबलसमेत कमजोर हुनसक्ने भएकाले सचेत रहन आग्रह गरेका छन्।
यस्तो अवस्थामा अमेरिकी डलरसँगको भारतीय मुद्राको विनिमय दर अझै कमजोर हुनसक्ने अनुमान गरिएको छ। यसले नेपाललाई केही दबाबमा राख्नेछ। नेपालको हाम्रो ६५ प्रतिशतभन्दा धेरै व्यापार भारतसँग छ र त्यसमा १०/१५ प्रतिशत मात्रै निर्यातको हिस्सा पर्दछ। अमेरिकी डलरको विनिमय दर उच्च भए त्यसले नेपालमा आयात हुने वस्तुको मूल्य केही बढ्नेछ र नेपालले तिर्नुपर्ने साँवा तथा ब्याज रकममा धेरै खर्च गर्नुपर्नेछ।
यसको अर्को पाटो भनेको आयातमा केही बढी मूल्य पाउन सक्छ भने रेमिट्यान्सको आकार बढ्न सक्छ। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष समेतले स्थिर विनिमयका कारण नेपाललाई नकारात्मक असर नरहेको बताएकाले पनि हतारमा अघि बढ्न नहुने क्षेत्रीको टिप्पणी छ।
राष्ट्रिय योजना आयोगका अर्का पूर्वउपाध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा मीनबहादुर श्रेष्ठ अफ्ठेरो पर्दा मात्रै भारतसँगको विनिमय दरको विषय बहसमा ल्याउने गर्नु ठीक नहुने बताउँछन्। 'राजनीतिक स्थिरता र समष्टिगत अर्थतन्त्रमा पनि स्थिरता भएको बेला यो विषय उठाउँदा ठीक हुने हो,' उनले भने, 'अहिले हामी शोधनान्तर घाटा र विदेशी मुद्रा सञ्चितिको दबाबमा छौँ, त्यसकारण अहिले यो विषय ल्याउँदा केही पेन्डुलम जस्तो देखिन्छ।'
भारतमा अर्थतन्त्रमाथिको संकट बढ्दै जाँदा अटोमोबाइल उद्योगमा कार्यरत श्रमिकहरुले धमाधम रोजगारी गुमाइरहेका छन्। यसका साथै अन्य क्षेत्रमा पनि यही अवस्था निम्तिन सक्ने भन्दै अर्थशास्त्रीहरुले सचेत गराइरहेका छन्।
नेपालको अर्थतन्त्रको आकार सानो छ। त्यसमा पनि निर्यात व्यापारको परिमाण झनै सानो छ। त्यस्तो अवस्थामा आश्रित अर्थतन्त्रमा गहिरिएको संकटको असर देखिनु अस्वाभाविक होइन। भारतमा लगानीको सम्भावना कमजोर हुँदा त्यहाँबाट लगानीकर्ता नजिकको छिमेक जान खोजे नेपालमा लगानी बढ्न सक्ने बताउँछन् श्रेष्ठ। 'यसमा सिल्भर लाइनिङ पनि छ,' उनले भने।
नेपाल र भारतीबच करिब २५ वर्षयता विनिमय दर स्थिर छ। यसकै आधारमा दर परिवर्तको बहस बेलाबेलामा उठ्ने गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।