काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्येक वर्षलाई भ्रमण वर्ष बनाउन जोड दिएका छन्। ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान) को ४१औं साधारणसभामा बोल्दै उनले अटुट र प्रचुर सम्भावना भएको पर्यटन क्षेत्रले नेपालको दिगो विकास गर्न सक्ने बताए। उनले भने, ‘प्रत्येक वर्ष भ्रमण हुने वातावरण बनाउनुपर्छ। निजी क्षेत्रलाई साथ लिएर आर्थिक प्रगति गर्न सकिन्छ।’
नेपालमा राजनीतिक परिवर्तन भएको सुनाउँदै आर्थिक विकास अबको एजेन्डा हुनुपर्ने बताए। राजनीतिक परिवर्तन आर्थिक समृद्धिसँग जोड्नुपर्ने उनको राय थियो। आर्थिक समृद्धिविना मुलुकले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पर्ने खतरा औंल्याउँदै राजनीतिक नेतृत्व, नागरिक समाज र निजी क्षेत्रले मिलेर मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याए।
पराजित विचार र तत्व कुनै न कुनै रुपमा विश्व समयक्रममा देखिने विश्व इतिहास रहेको भन्दै उनले थपे, 'आर्थिक उन्नति गर्न नसके पराजित शक्ति फेरि पनि उठ्न सक्नेछन्।'
पर्यटन व्यवसायीलाई आफ्नो क्षेत्रमा सुसाशन कायम राख्न आग्रह गर्दै उनले भने, 'पर्यटकलाई बढी दुहुने पनि नगरौं। पर्यटन क्षेत्रलाई सेवा भावसँग जोडौं।’
साधारणसभाले टानको आगामी दुईवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्षका लागि अञ्जन थापा र खुमबहादुर सुवेदीका दुई प्यानलले उम्मेदवारी घोषणा गरेका छन्। अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्य गरी १७ पदका लागि निर्वाचन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।