काठमाडौं- नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याउन सम्पूर्ण पूर्वाधार तयार भएको जनाएको छ।
बोर्डले बिहीबार एउटा सूचना जारी गर्दै मार्जिन कारोबार शुरु गर्न लागिएको जानकारी दिएको हो।
मार्जिन कारोबार सुविधा संचालन गर्न छुट्टै हितग्राही खाता आवश्यक पर्छ। तर विद्यमान धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा उक्त हितग्राही खाता संचालन सम्बन्धमा कुनै व्यवस्था थिएन।
सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडले धितोपत्र बोर्डलाई उक्त नियमावलीमा आवश्यक संशोधन प्रस्तावसहित स्वीकृतिका लागि पठाएको थियो। बोर्डले ‘धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को पाँचौ संशोधन (२०७६) लाई स्वीकृति दिएपछि मार्जिन कारोबारसम्बन्धी अधिंकाश विषय टुंगिएका छन्।
बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार सिडिएससीले मार्जिन कारोबार राफसाफ प्रयोजनका लागि हितग्राही खाता सम्बन्धी व्यवस्था गरी धितोपत्र बजार, निक्षेप सदस्य र राफसाफ सदस्यलाई जानकारी गराउनु पर्नेछ।
उक्त व्यवस्थापश्चात् राफसाफ सदस्यले मार्जिन कारोबार राफसाफ प्रयोजनका लागि कुनै निक्षेप सदस्य मार्फत् मार्जिन कारोबार राफसाफ हितग्राही खाता खोल्न सक्ने छन्। मार्जिन कारोबार सुविधा संचालनमा आई धितोपत्र बजारको दायरा बृद्धि हुने तथा कारोवारमा समेत विस्तार भई धितोपत्र बजार थप चलायमान हुने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुरुप लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले बोर्डले २०७४ कार्तिक २० गते मार्जिन कारोबारसम्बन्धी निर्देशन जारी गरेको थियो।
यो व्यवस्था कार्यान्वयनमा आएसँगै पूँजीबजारका लगानीकर्ताले शेयर किन्दा ब्रोकरबाट समेत ऋण पाउन सक्नेछन् भने यसअघि मार्जिन कर्जाका लागि लगानीकर्ताले बैंकसम्मै पुग्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ।
मार्जिन कारोबार गर्न ३१ कम्पनीमात्रै योग्य, सबैभन्दा बढी वाणिज्य बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबार सम्बन्धी धितोपत्र जारी गर्न पाउने कम्पनीको सूचीमा ३१ वटा कम्पनी मात्रै छनौट गरेको छ।
मार्जिन कारोबारसम्बन्धी कार्यविधि २०७५ अनुसार भएको व्यवस्था लाई आधार मान्दै नेप्सेले ३१ वटा कम्पनी मार्जिन ट्रेडिङका लागि योग्य रहेको जनाएको छ।
कार्यविधिले मार्जिन कारोबार गर्ने कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ। नेप्सले जारी गरेको मार्जिन कारोबार गर्न योग्य कम्पनीहरुको सूचीमा शेयरधनी, चुक्ता पूँजी, लाभांशलगायत विभिन्न क्षेत्रलाई आधार मानिएको छ। सोही आधारमा ३१ वटा कम्पनीका लगानीकर्ताका लागि मार्जिन ट्रेडिङ सुविधा पाईने नेप्सेको भनाइ छ।
यस्तो सूचीमा ११ वटा वाणिज्य बैंक, ६ वटा विकास बैंक, ९ वटा लघुवित्त, ३ वटा जलविद्युत कम्पनी, एउटा होटल र एउटा अन्य क्षेत्रबाट परेका छन्।
नेप्सेबाट छनौट भएका शेयर लगानीकर्ताले शेयर बजारमा लगानीका लागि धितोपत्र दलाल व्यवसायीबाट ऋण लगायतका अन्य सुविधासमेत पाउनेछन्। धितोपत्र नै धितोमा राखेर पनि ऋण पाउन सक्ने भएकाले त्यस्तो व्यवस्थाले बजार विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।