काठमाडौं- भारतको पूर्वोत्तर राज्य आसामको राष्ट्रिय नागरिकता दर्ता (एनआरसी)को अन्तिम सूचीमा एक लाखभन्दा बढी नेपाली भाषीको नाम छुटेको छ।
भारतीय अंग्रेजी अखबार 'द हिन्दू'का अनुसार एक लाखभन्दा बढी नेपाली भाषीलाई आसामको राष्ट्रिय नागरिकता दर्ता सूचीबाट हटाइएको भारतीय गोर्खा परिसंघले दाबी गरेको छ।
शनिबार जारी गरिएको सूचीमा नाम भएका व्यक्ति भारतीय मानिने छन् भने यसमा नाम नभएका व्यक्ति विदेशी मानिने छन्। सूचीमा २४ मार्च १९७१ भन्दा अगाडिनै आसाममा आइसकेका प्रमाणित मानिसहरूको मात्र नाम उल्लेख छ।
परिसंघका राज्य अध्यक्ष नित्यानन्द उपाध्यायले राज्यभरका स्थानीय संगठनका स्थानीय इकाईसँग कुरा गर्दा यसो संख्या थाहा भएको बताए।
‘डेटा हामी कहाँ आउनलाई दुई/तीन दिनदेखि पर्खिरहेका छौं,’ उनले भने, ‘सूचीबाट हटाइएका आधिकारिक भारतीय गोर्खा नागरिकको संख्या एक लाखभन्दा बढी भएको आँकलन गरिएको छ।’
‘एनआरसी आसामको ऐतिहासिक सम्झौतामा आधारित छ। समग्रमा एनआरसी आसा गरिएको लाइनमा छैन,’ उनले थपे।
भारतीय गोर्खा परिसंघका नेता नन्दा किराती देवानले सूची पुनरालोकन गर्ने प्रक्रियाको अन्तिम समयसम्म गोर्खा समुदायले धैर्यता देखाउने बताए।
‘एनआरसीको मस्यौदाबाट हटाइनेको संख्या आएको छ’, देवानले भने, ‘१ लाख गोर्खाली अस्वीकृत सूचीमा छन्। २० लाख जतिले संन्दिग्ध मतदाताको आरोप खेपिरहेका छन्। अन्य केहीले थर नमिलेकाले समस्या भोगिरहेका छन्।’
१९ लाख राज्यविहीन
एनआरसीको अन्तिम सूचीमा १९ लाखभन्दा बढी मानिसको नाम समावेश भएको छैन।
सूचीमा कूल ३ करोड ११ लाख मानिस सामेल गरिएकोमा १९ लाख राज्यविहीन भएका हुन्। यद्यपि सूचीमा नाम नभएकाहरूले १ सय २० दिनभित्र अपिल गर्न सक्नेछन्। तर, त्यसपछि के कारबाही हुन्छ भन्ने स्पष्ट छैन।
अवैध बंगलादेशी आप्रवासी छुट्याउन यो प्रक्रिया आवश्यक भएको तर्क भारतले गर्ने गरेको छ।
सूचीमा नअटाएका मानिसलाई तत्कालका निम्ति देश निकालाको सम्भावना भने नरहेको भारतीय मिडियाले उल्लेख गरेका छन्।
गत वर्ष प्रकाशित यसअघिको मस्यौदा सूचीमा भने ४० लाख मानिसको नाम राखिएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।