काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देशको आवश्यकता भएको बताएका छन्।
‘हाम्रा लागि विमानस्थल ठूलो हो,’ मन्त्री भट्टराईले भने, ‘विमानस्थल सञ्चालनमा बाधाअवरोध खडा गर्ने संरचनाको विकल्प हुन्छ। तर, विमानस्थलको विकल्प हुँदैन।’
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुट डिजाइन तथा सञ्चालनमा बाधा पुर्याउने अर्घाखाँची सिमेन्ट उद्योगले चिम्नीको उचाइ घटाउन अटेरी गरेको अवस्थामा मन्त्री भट्टराईले यस्तो अभिव्यक्ति दिएका हुन्।
मन्त्री भट्टराईले सोमबार मन्त्रालयको प्राथमिकतामा रहेका वार्षिक कार्ययोजना सार्वजनिक गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।
भट्टराईले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ को डिसेम्बरभित्र निमार्ण सम्पन्न गरी त्यसको ३ महिनाभित्र परीक्षण उडान गर्ने गरी तयारी भएको समेत बताएका छन।
मन्त्री भट्टराईले विमानस्थल सञ्चालनको योजना सुनाएसँगै पत्रकारलहरुले विमानस्थल सञ्चालन र रुट डिजाइनमा अर्घाखाँची सिमेन्ट उद्योगको १ सय २४ मिटर अग्लो चिम्नीको विषयमा प्रश्न गरेका थिए।

पत्रकारको प्रश्नमा मन्त्री भट्टराईले विमानस्थल सञ्चालनमा अवरोध खडा गर्ने संरचनाको विस्थापनको विकल्पलाई लिएर सम्बन्धित संस्थासँग छलफल समेत भइरहेको र छलफलकै क्रमबाट समस्या समाधान समेत हुने बताएका थिए।
‘हवाई उडानमा सबैभन्दा ठूलो विषय सुरक्षा हो,’ मन्त्री भट्टराईले भने, ‘सुरक्षामा खतरा उत्पन्न गर्नेगरी कुनै पनि विषयमा सम्झौता हुँदैन।’
विमानस्थल सञ्चालन र आवश्यक फ्लाइट रुट डिजाइनमा सिमेन्ट उद्योगको चिम्नी (टावर) बाधक बन्ने प्रमाणित भइसकेको अवस्थामा पनि अर्घाखाँची सिमेन्ट उद्योग व्यवस्थापनले भने चिम्नी हटाउन अटेरी गर्दै आएको छ।
सिमेन्ट उद्योगले निर्माण गरेको १ सय २४ मिटर अग्लो चिम्नीले विमानस्थल सञ्चालन तथा रुट डिजाइनमा समस्या उत्पन्न गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुदृढीकरण कार्य आयोजना इकाई रुपन्देही कार्यालयले ठहर गरिसकेको छ।
इकाईले पहिलोपटक नेपाल नागरिक उड्डयन अन्तर्गतको राष्ट्रिय गौरवको आयोजना निर्देशनालयको समन्यवमा २०७५ चैत १० मा व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका पशुपति मुरारकाको लगानी रहेको अर्घाखाँची सिमेन्टलाई चिम्नीको टावरको उचाइ ४० मिटर घटाउन भन्दै पत्र काटेको थियो। तर, उद्योगले पहिलो पत्रको कुनै प्रतिक्रिया नदिएपछि पुनः २०७६ असार १७ मा दोस्रो पत्र काटिएको थियो।

दोस्रो ताकेतापछि भने उद्योगले सिमेन्ट उद्योगको चिम्नीले विमानस्थल सञ्चालन र रुट डिजाइनमा कुनै समस्या खडा नगर्ने भन्दै इकाईलाई लिखित रुपमा स्पष्टिकरण दिएको थियो।
’उद्योगमा भएको लगानीको सुरक्षा र अन्तर्राष्ट्रिय विमानस्थल निर्बाध रुपमा कसरी सञ्चालन गर्न सकिन्छ भनी उद्योगका तर्फबाट हवाई उडान विधिका विज्ञ नियुक्ति गरी अध्ययन गरिएको छ,’ पत्रमा भनिएको थियो, ‘विज्ञबाट प्राप्त सुझावका आधारमा उद्योग र विमानस्थल दुबै निर्वाध रुपमा सञ्चालन हुने गरी उडान, अवतरण रुट तथा डिजाइन विधि अवलम्बन गर्न सकिने हुँदा सो अनुसार उडान–अवरतण विधिको डिजाइन कार्य हुने अनुरोध छ।’
उद्योगको अटेरीपछि इकाईले सिमेन्ट उद्योगसँग आवश्यक समन्वयका लागि माथिल्लो निकाय राष्ट्रिय गौरवको आयोजना निर्देशनालय र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको इकाईका प्रमुख प्रवेश भट्टराईले जानकारी दिए।
माथिल्लो निकायले पनि यस विषयमा अध्ययन गरिरहेको उनको भनाइ छ।
‘विमान उडान तथा अवतरण मात्रै ठूलो कुरा हैन,’ भट्टराईले भने, ‘यो क्षेत्रमा सबैभन्दा ठूलो कुरा उडान सेफ्टी नै हो। हामी सोहीअनुसार अगाढि बढ्छौं। उडान सुरक्षामा हेलचक्र्याइँ गर्दा आइकाओले त्रिभुवन विमानस्थललाई कालोसूचीमा राखेजस्तो घटना नदोहोरियोस् भन्ने हाम्रो अपेक्षा हुन्छ।’
अन्तर्राष्ट्रिय उडान नियमनमा पनि रन–वेको केन्द्र विन्दुबाट ४ किलोमिटरको क्षेत्रभित्र रहेको संरचनाको उचाई रन–वेको लेभलबाट ४५ मिटरभन्दा बढी हुन नहुने उल्लेख छ। सोहीअनुसार सरकारले सिमेन्ट उद्योगलाई चिम्नीको उचाइ कम गर्न भनेको हो।

'सिमेन्ट उद्योगको चिम्नी रन–वेको सेन्टरबाट ३ हजार १ सय २४ मिटरमा रहेको छ,’ भट्टराईले भने, ‘सिमेन्ट उद्योगले पनि विमानस्थल सञ्चालनका लागि आवश्यक रुट तयमा सहयोग गर्नुपर्छ।’
‘धावनमार्गको सतहदेखि ४५ मिटर (अधिकतम) उचाइसम्मका संरचना बनाउन पाइन्छ। त्योभन्दा माथि पाइँदैन। यो टावरको उचाई करिब १ सय २४ मिटर छ। ४५ मिटर भनेको विमानस्थलको धावनमार्गको सतहसँग मात्रै हो। तर, त्यो संरचना खडा भएको स्थानको तह धावनमार्गभन्दा केही तल्लो तहबाट नै निर्माण भएको हुँदा ४० मिटर मात्रै घटाउनु पर्ने देखिएकोले पत्राचार गरिएको हो,’ भट्टराई भन्छन्।
आगामी आर्थिक वर्षभित्र नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि भन्दै सरकारले बजेटमार्फत ३ अर्ब ३४ करोड रुपैयाँ विनियोजनसमेत गरिसकेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत आगामी बैसाखभित्र विमानस्थल सञ्चालनको तयारी गरेको छ।
यो पनिः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।