रातो घेराभित्र देखिएको अग्लो संरचना अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नी। यसको उचाइ १२४ मिटर छ। तस्बिरः दीपक घिमिरे
काठमाडौं/भैरहवा- भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुट डिजाइन तथा सञ्चालन बाधा पुर्याउने अर्घाखाँची सिमेन्ट उद्योगले चिम्नीको उचाई घटाउन अटेरी गरेको छ।
विमानस्थल सञ्चालनको आवश्यक फ्लाइट रुट डिजाइनमा सिमेन्ट उद्योगको चिम्नी (टावर) बाधक बन्ने प्रमाणित समेत भइसकेको अवस्थामा सिमेन्ट उद्योग व्यवस्थापनले अटेरी गर्दै आएको खुलासा भएको छ।
सिमेन्ट उद्योगले निर्माण गरेको १ सय २४ मिटर अग्लो चिम्नीले समस्या सिर्जना गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुदृढीकरण कार्य आयोजना इकाई रुपन्देहीका प्रमुख प्रवेश अधिकारीले बताए।
फ्लाइट रुट डिजाइनमा सिमेन्ट उद्योगले निर्माण गरेको चिम्नीले समस्या ल्याउने निश्चित भएपछि व्यवसायी पशुपति मुरारकाको लगानी रहेको अर्घाखाँची सिमेन्ट उद्योगलाई लिखित रूपमै उचाई कम गर्न २०७५ चैतमा १० गते गौतम बुद्ध विमानस्थल सुदृढीकरण कार्य आयोजनाले पत्र काटिएको थियो।
.jpg)
इकाईले पत्र काटेको ३ महिनासम्म सिमेन्ट उद्योगले कुनै प्रतिक्रिया नदिएपछि पुनः २०७६ असार १७ गते चिम्नीको उचाइ कम गर्न पत्र काटिएको थियो।
.jpg)
इकाईले दोस्रो पटक पत्र काटेको ५ दिनपछि अर्थात् असार २२ गते भने रुट डिजाइन तथा उडान र अवतरणमा उद्योगको चिम्नीले कुनै समस्या खडा नगर्ने भन्दै अर्घाखाँची सिमेन्टले आयोजनका इकाइलाई प्रत्युत्तर पत्र पठाउँदै उचाइ घटाउने अटेरी गरेको छ।
.jpg)
'उद्योगमा भएको लगानीको सुरक्षा र अन्तर्राष्ट्रिय विमानस्थल निर्बाध रुपमा कसरी सञ्चालन गर्न सकिन्छ भनी उद्योगका तर्फबाट हवाई उडान विधिका विज्ञ नियुक्ति गरी अध्ययन गरिएको छ,' पत्रमा भनिएको छ, ‘विज्ञबाट प्राप्त सुझावका आधारमा उद्योग र विमानस्थल दुबै निर्वाध रुपमा सञ्चालन हुने गरी उडान तथा अवतरण रुट तथा डिजाइन विधि अवलम्बन गर्न सकिने हुँदा सो अनुसार उडान-अवरतण विधिको डिजाइन कार्य हुने अनुरोध छ।’
चिम्नीको उचाई घटाउन अटेरी गर्ने अर्घाखाँची सिमेन्टले अध्ययन प्रतिवेदनसमेत दिने पत्रमा उल्लेख गरेको छ।
सिमेन्ट उद्योगले पत्रका साथमा दिएको सुझाव यस्तो छ पत्र
.jpg)
‘विमानस्थल अपरेसन गर्ने सिभिल इन्जिनियरङ विभाग हो,' इकाईका प्रमुख अधिकारीले भने, ‘सिमेन्ट उद्योगलाई फेरि केही दिनभित्र अवरोध हुने सबै विषयमा पुनः पत्रका साथ जानकारी गराउँछौं।’यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि विमानस्थल आसपासमा रहेको अग्लो संरचना हटाएको थियो।
‘जहाज उडान तथा अवतरण मात्रै ठूलो कुरा हैन,' अधिकारीले भने, ‘यो क्षेत्रमा सबैभन्दा ठूलो कुरा उडान सेफ्टी नै हो। हामी सोही अनुसार अगाढि बढछौं। उडान सुरक्षामा हेलचेक्र्याँइ गर्दा आइकाओले त्रिभुवन विमानस्थललाई कालोसूची राखेजस्तो घटना नदोहोरियोस् भन्ने हुन्छ।’
अन्तर्राष्ट्रिय उडान नियमनमा पनि रन–वेको सेन्टर विन्दुबाट ४ किलोमिटरको क्षेत्रभित्र रहेको संरचनाको उचाई रन–वेको लेभलबाट ४५ मिटरभन्दा बढी हुन नहुने उल्लेख गरेको अधिकारीले बताए। सोही अनुसार सरकारले सिमेन्ट उद्योगलाई चिम्नीको उचाई कम गर्न भनेको उनको भनाइ छ। साथै केन्द्रीय स्तरबाटै पनि सरकारले यसको लागि पहल गर्ने गरी निर्णय गर्नु पर्ने अधिकारी बताउँछन्।
इकाईले पनि केही दिनभित्रै फेरि चिम्नीको उचाइ घटाउन अर्को पत्र काट्ने उनको भनाइ छ। 'सिमेन्ट उद्योगको चिम्नी रन–वेको सेन्टरबाट ३१ सय २४ मिटरमा रहेको छ,' अधिकारीले भने, ‘सिमेन्ट उद्योगले पनि विमानस्थल सञ्चालनका लागि आवश्यक रट तयमा सहयोग गर्नुपर्छ।’
सिमेन्टले निर्माण गरेको चिम्नी पनि ४ किलोमिटरभित्रै रहेका कारण उचाई घटाउन भन्दै पत्र काटेको अधिकारी बताउँछन्।
‘धावनमार्गको सतहदेखि ४५ मिटर (अधिकतम उचाई)सम्मका संरचना बनाउन पाइन्छ। त्योभन्दा माथि पाइँदैन। यो टावरको उचाई करिब १ सय २४ मिटर छ। तर, ४५ मिटर भनेको विमानस्थलको धावनमार्गको सतहसँग मात्रै हो। तर, त्यो संरचना खडा भएको स्थानको तह धावनमार्गभन्दा केही तल्लो तहबाट नै निर्माण भएको हुँदा ४० मिटर मात्रै घटाउनु पर्ने देखिएकोले पत्राचार गरिएको हो,' अधिकारी भन्छन्।
आयोजना इकाईले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक स्तरको निर्णयबाट चिम्नीको उचाई ४० मिटर घटाउन पत्र काटेको थियो।
आयोजना निर्देशनालयले गत चैत १० गते लिखित रूपमै टावरको उचाई घटाउन उद्योगलाई पत्र काटेको थियो।
आयोजना इकाई प्रमुखको हैसियतमा अधिकारी आफैंले प्राविधिकसहित टावरको स्थलगत अध्ययनसमेत गरेको बताएका छन्। अहिले आएर सिमेन्ट उद्योगले के–कसरी अध्ययन गरेर चिम्नीले असर नगर्ने भनेको त्यस विषयमा पुनः उनीहरुसँग छलफल हुने अधिकारी बताउँछन्।
स्थलगत अध्ययनसँगै सिमेन्ट उद्योगका प्रतिनिधिहरूसँगको छलफलमा चिम्नीले फ्लाइट रुट डिजाइनमा पार्ने समस्याको बारेका आफूले उनीहरूलाई जानकारी गराएको ३ महिनासम्म कुनै प्रतिक्रिया नदिएको उनको भनाइ छ।
दोस्रो पत्र पाएपछि भने सिमेन्ट उद्योगले कुनै असर नगर्ने भन्दै पत्र पठाको उनको भनाइ छ। यसअघि नै आफूले ‘उद्योगको बैठक हलमा भएको छलफलमा टावरको असरबारे उनीहरूलाई गणितीय हिसाबमा जानकारी गराएको थिएँ,’ अधिकारीले भने।
‘बीचमा आयोजना निर्देशनालय पनि रन-वे पिचको काममा बढी व्यस्त हुँदा सिमेन्ट उद्योगलाई ताकेता गर्न सकेको थिएन,' अधिकारीले थपे, ‘अब फेरि उद्योगलाई चिम्नीको उचाई घटाउने विषयमा ताकेता गर्छौं।’
उद्योग प्रतिनिधिका प्रश्नमा आयोजना निर्देशनालय प्रमुखको हैसियतमा अधिकारीले अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्ड अनुसार सुरक्षामा यसले कसरी के असर गर्छ भन्ने विषयमा सुझाएका समेत थिए। उद्योगका प्रतिनिधिलाई यसले उडान प्रक्रियाअनुसार विमान आवागमनको रुट डिजाइनमा समस्या ल्याउने जानकारीसमेत दिएको अवस्थमा पुनः समस्या नआउने भन्दै पत्र आउँदा आफू नै चकित भएको उनको भनाइ छ।
उद्योगलाई इकाईले आइकाओको उडान प्रक्रियाको रुट डिजाइन गर्ने, रुटको लम्बाई बढ्ने, घुमाउरो रुट पर्ने र हवाई सुरक्षामा समेत यसले असर गर्ने भन्दै जानकारी समेत भइसकेको उनको भनाइ छ।
कहाँ पुग्यो विमानस्थल निर्माण?
गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल निमार्णको काम अन्तिम चरणमा पुगेको छ। विमानस्थलको ३ हजार मिटर लामो रन-वे निर्माणको काम पनि सकिइसकेको छ। विमानस्थल निर्माण इकाईका अनुसार २०१९ को डिसेम्बरसम्ममा विमानस्थल निर्माणको काम सम्पन्न हुने लक्ष्य लिइएको छ। हालसम्म विमानस्थल निर्माणको काम ७३ प्रतिशत पूरा भएको छ। अब फिनिसिङको काम भइरहेको छ।
विमानस्थलको भौतिक संरचना निर्माण गरिरहेको चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’ले विमानस्थलको निर्माण गरिरहेको छ। निर्माण कम्पनीसँग सरकारले २०१४ नोभेम्बरमा सन् २०१७ डिसेम्बरसम्ममा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो।
.JPG)
तर, तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि सरकारले विमानस्थल निर्माणको समय थप गर्दै २०१९ को जुन २८ सम्म समय थप गरेको थियो। थप भएको समयमा पनि विमानस्थलको आवश्यक पूर्वाधार निर्माणमा केही काम बाँकी रहेको भन्दै दोस्रो पटक समय थपको तयारी गरेको हो।
निर्माण कम्पनीले पनि भौतिक संरचना निर्माणको अन्तिम चरणको काम गरिरहेको जनाएको छ। विमानस्थलको रन–वे निर्माणको काम सकिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडानको समेत तयारी गरिरहेको छ। साथै विमानस्थल सञ्चालनका लागि आवश्यक उपकरण जडानको काम पनि भइरहेको छ।
आगामी आर्थिक वर्षभित्रै गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनको लागि भन्दै सरकारले बजेटमार्फत ३ अर्ब ३४ करोड रुपैयाँ विनियोजनसमेत गरिसकेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत आगामी बैशाख भित्र विमानस्थल सञ्चालनको तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।