काठमाडौं- नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुकका रुपमा रहेको मलेसियाबाट १ सयभन्दा बढी कामदारहरु फर्किएका छन्।
मलेसिया सरकारले जेलमा रहेका विदेशी कामदारहरुलाई स्वदेश फर्काउन सञ्चालनमा ल्याएको 'ब्याक फर गुड' कार्यक्रममार्फत १ सय बढी नेपाली कामदार लाभान्वित भएका हुन्।
मलेसियास्थित नेपाली दूतावासका अनुसार शुक्रबारसम्म अवैधानिक रुपमा रहेका १ सयभन्दा बढी नेपाली कामदारहरु फर्किएका हुन्।
मलेसिया सरकारले गत १ अगस्टदेखि आगामी ३१ डिसेम्बरसम्म अवैधानिक रुपमा मलेसियाका विभिन्न स्थान तथा जेलमा रहेका कामदारहरुलाई स्वदेश फर्कने अवसर प्रदान गरेको छ।
ब्याक फर गुड कार्यक्रममार्फत नेपाल फर्किने अवैध नेपालीहरुले ७ सय मलेसियन रिगिंट जरिवाना बुझाउनुपर्ने हुन्छ।
पासपोर्ट नहुनेका हकमा एकतर्फी यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) बनाउनका लागि बुझाउनु पर्ने राजश्ववापत प्रतिव्यक्ति १ सय ६० मलेसियन रिंगिट मलेसियास्थित नेपाली दूतावासमा बुझाउनुपर्ने दूतावासले जनाएको छ।
त्यस्तै, मलेसियाबाट नेपाल फर्कन लाग्ने हवाई टिकट शूल्कसमेत बुझाउनु पर्दछ।
रोजिरोटीको खोजीमा हरेक वर्ष १ लाखको हाराहारीमा नेपाली कामदारहरु रोजगारीका लागि मलेसिया जाने गरेका छन्। तर, २०७५ जेठ २ गतेदेखि नयाँ श्रम स्वीकृति लिएर नेपाली कामदारहरु मलेसिया जान पाएका छैनन्।
जसले गर्दा करार अवधि सकिएपछि पनि अवैध भएर बस्ने नेपाली कामदारको संख्या बढेको हुनसक्ने दूतावासले अनुमान गरेको छ।
मलेसिया सरकारले तोकेको अवधिभित्र सवै अवैध कामदारहरुलाई स्वदेश फर्कनका लागि दूतावासले अनुरोधसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।