काठमाडौं- गाउँका २ सयभन्दा धेरै चेलीलाई भारतका वेश्यालयमा लगेर बिक्री गरेको आरोप लागेका नुवाकोटका वडाध्यक्ष सुनबहादुर तामाङलाई सर्वोच्च अदालतले तीन दिनभित्र अदालत उपस्थित गराउन आदेश गरेको छ।
चेलीबेटी बेचबिखन मुद्दामा जिल्ला अदालतले धरौटीमा रिहा गरे पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेपछि तामाङका तर्फबाट मंगलबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दा हालिएको थियो। धरौटीमा छुटेका तामाङ नेपालबाट भागेर भारत जाने देखिएको भन्दै सिआइबीले पक्राउ गरेको थियो।
बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले पक्राउ गर्नुको कारण माग्दै बन्दीलाई उपस्थित गराउन आदेश गरेको हो। सर्वोच्चले पक्राउ गर्नुको कारणबारे लिखित जवाफ पेश गर्न सिआइबीलाई भनेको छ।
चेलीबेटी बेचबिखन जस्तो गम्भीर अपराधमा पक्राउ परेका तामाङलाई माघ ७ गते अदालतले धरौटीमा छाड्ने आदेश दिएको थियो। गत आइतबार काठमाडौं जिल्ला अदालतको आदेशपछि उनी ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। लगत्तै सिआइबीले अर्को मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ गरेको थियो।
जिल्लाले थुनछेक आदेश गर्दै धरौटीमा रिहा गरे पनि प्रहरीले गैरकानुनी रुपमा पक्राउ गरेको दाबी तामाङका आफन्तको थियो। जिल्ला अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै पक्राउ गर्नु गैरकानुनी भएको दाबी उनीहरुको थियो।
प्रहरीको अनुसन्धानमा सुनबहादुरले गाउँका २ सयभन्दा धेरै चेलीलाई बम्बई तथा दिल्लीका वेश्यालयहरुमा लगेर बिक्री गरेको खुलेको थियो। एक महिलासँग मिलेर उनी आफैंले पनि दिल्ली र मुम्बईमा वेश्यालय चलाउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।