काठमाडौं– त्रिवि शिक्षण अस्पतालबाट मोटरसाइकल चोर्ने गिरोहका दुई जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त महाराजगन्जले लागुऔषधसहित दुई जनालाई मंगलबार पक्राउ गरेको हो।
सोमबार अस्पतालबाट जितबहादुर वाइबाको बा ६० प ४०३० नंको रातो युनिकर्न मोटरसाइकल चोरी गर्ने काभ्रे घर भई हाल महाराजगन्ज बस्ने २२ वर्षीय डेण्डुप लामा र सोलुखुम्बु घर भई महाराजगन्ज बस्दै आएका २६ वर्षीय सविन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
चोरीको मोटरसाइकल र लागुऔषध डाइजोल्याब ५ एम्पुल, नुफिन ५ एम्पुल, फेनेरगन ५ एम्पुल र ३ थान सिरिन्जसहित महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले शिक्षण अस्पताल अगाडि रहेको सुनाखरी होटलबाट बरामद गरेको हो।
अस्पतालको पार्किङबाट नियमित रुपमा मोटरसाइकल चोरी हुने गरेको छ। जसमा पेशेवर समूह नै सक्रिय रहेको प्रहरी अधिकारीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।