काठमाडौं– भक्तपुरको एक घरमा मध्यराति प्रवेश गरी १० जनाको समूहले करिब १४ लाख रुपैयाँ बरारबरको डकैती गरेको छ।
बुधबार साढे २ बजे सूर्यविनायक ८ बस्ने राम तामाङको घरमा डकैती भएको हो।
यसरी भयो डकैती
पीडितले प्रहरीलाई बताएअनुसार घरको कम्पाउण्ड नाघेर डकैती गर्ने समूह भित्र प्रवेश गरेको थियो। घरको मुख्य ढोकाको माथि सिसा थियो। उक्त सिसा फुटाएर उनीहरुले त्यहाँबाट हात छिराई ढोकाको चुकुल खोले।
पेस्तोल देखाएर सबैको मोबाइल खोसे। र, सबैलाई एउटै कोठामा राखेर रिभल्भर र खुकुरी देखाउदै हल्ला गरे मार्ने धम्की दिदै बन्धक बनाए।
त्यसपछि उनीहरुले १० वटा मोबाइल, १८ तोला सुनका गहना, १ लाख ६२ हजार नगद र एउटा मोटरसाइकल डकैती गरेर लगेका महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी कृष्ण प्रसाईले बताए।
घटनाको बारेका आफुहरुले साढे ४ बजे मात्र जानकारी पाएको उनी बताउँछन्।
पीडित तामाङ कुखुराको दाना व्यवसायी हुन्। उक्त घर भाडामा लिएर उनी बस्दै आएका थिए।
डकैती गर्नेहरु मास्कसमेत नलगाई भित्र छिरेका थिए। तर, आफूले नचिनेको तामाङले बताएका छन्। घटनामा कोही चिनजानकै व्यक्ति संलग्न भएको हुन सक्ने प्रहरीको आशंका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।