काठमाडौं– शैक्षिक परामर्शदातृ संस्थाहरुको संगठन नेप्लिज एसोसियसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ्स (नाएर)को अध्यक्षमा विज्ञान श्रेष्ठ चयन भएका छन्।
१२औं अधिवेशनबाट उपाध्यक्षमा प्रेम पाण्डे, महासचिवमा उद्धव खड्का, कोषाध्यक्षमा अनन्त पौड्याल र कार्यकारी सदस्यमा विराज पाण्डे चुनिएका छन्। उनीहरुको कार्यकाल दुई वर्षको हुनेछ।
नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउने शैक्षिक परामर्शदाता कम्पनीहरुको विश्वसनीयता, गुणस्तरीयतामा विशेष ध्यान दिँदै आएको नाएरको स्थापना सन् २००७ मा भएको हो। अष्ट्रेलियाका अधिकांश विश्वविद्यालय तथा कलेजहरुले नाएरलाई विशेष पहिचानमा राख्ने गरेका छन्।
नाएरले एसोसियसन अफ नेप्लिज अल्मुनी फ्रम अष्ट्रेलिया (आना) र नेपाल अष्ट्रेलियन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (नाक्की)सँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। यी दुई संस्थासँगको सहकार्यले नेपाल र अष्ट्रेलियाबीचको शैक्षिक, व्यापारिकलगायत सम्बन्ध थप बलियो बनेको नाएरले विश्वास लिएको छ।
संस्थाको नयाँ कार्यसमिति गठन भएसँगै नाएर र आनाले संयुक्त रुपमा एक अभियानको सुरुवात गर्दैछन्। ‘कम ब्याक होम’ नाम दिइएको अभियानले अष्ट्रेलिया तथा अन्य मुलुकमा उच्च शिक्षाका लागि पुगेका नेपाली युवाहरुलाई नेपाल फर्किन प्रेरित गर्ने बताइएको छ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले दुवै देशको हितलाई ध्यानमा राख्दै शैक्षिक तथा व्यवसायिक क्षेत्रमा सकारात्मक परिवर्तनका लागि आफूहरु लागिपर्ने बताए। ‘अष्ट्रेलिया र नेपालको सम्बन्धलाई थप बलियो बनाउन तथा यो क्षेत्रमा सकारात्मक विकासका लागि हामी काम गर्नेछौँ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।