काठमाडौं- नेपाल र चीनबीचको औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको ६४ वर्ष पुगेको छ।
नेपाल र चीनबीच १ अगस्ट १९५५ मा औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। दुवै देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ६४औं वर्षगाँठ मनाउन बेइजिङमा प्रदर्शनी राखिएको छ।
बेइजिङस्थित प्रदर्शनीमा तस्बिर, पेन्टिङ र अन्य कलाकृति राखिएको छ। अगस्ट ७ सम्म चल्ने प्रदर्शनी बेइजिङस्थित नेपाली दूतावास र चाइना इन्टरनेसनल कल्चर एक्सचेन्ज सेन्टरले आयोजना गरेका हुन्।
प्रदर्शनीलाई सम्बोधन गर्दै चीनका लागि नेपालका राजदूत लिलामणि पौडेलले आपसी विश्वास, फाइदा र सहकार्य बनाएर उत्तम किसिमबाट द्विपक्षीय सम्बन्धमा नेपाल र चीन रहेको बताए।
‘नेपाल र चीन ओठ र दाँत जोेडिएजस्तै घनिष्ठ छन्,’ उनले भने, ‘सहकार्यले नेपालको समाजिक-आर्थिक विकासका अलवा पूर्वाधार निर्माण, सञ्चार, शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ।’
उनले विशेषगरी चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)अन्तर्गत भविष्यका लागि अर्थपूर्ण सहकार्य गर्न इच्छुक रहेको पनि बताए। एक चीन नीतिप्रतिको नेपालको प्रतिवद्धतालाई दोहोर्याउँदै उनले नेपाली भूमिका चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिवद्धता जनाए।
उनले प्रदर्शनीले वर्षौं पुरानो द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाउन सहयोग पुर्याउने धारणा राखे।
चाइना इन्टरनेसनल कल्चर एक्सचेन्ज सेन्टरका सहायक महासचिव सांस्कृतिक वाङ झुवाङले यस्तै किसिमबाट संस्कृतिको आदानप्रदानले दुई देशबीचको दूरी घटाउने विश्वास व्यक्त गरे।
प्रदर्शनी उद्घाटन समारोमा चिनियाँ सरकारका अधिकारी, विदेशी कूटनीतिज्ञ र दुवै देशका कलाकार गरी १ सयभन्दा बढीको उपस्थिति रहेको थियो।
(सबै तस्बिर : चाइना डट ओआरजी डट सिएन)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।