राजविराज– शृंखलाबद्ध चोरी तथा लुटपाटका घटनाले आजित भएको सप्तरी प्रहरीले पहिलो पटक ५ जनालाई चोरीको अभियोगमा पक्राउ गरी सार्वजनिक गरेको छ।
सुरुङ खनेर पसल तथा घरमा चोरी गर्ने समूहमध्येका ४ र मोटरसाइकल चोरी गर्ने १ गरी ५ जना पक्राउ परेका छन्। घर तथा पसलमा चोरी गर्ने राजविराज नगरपालिका ४ का ३० वर्षीय मुरलीकुमार साह, छिन्नमस्ता गाउँपालिका ५ का ३५ वर्षीय सन्तोषकुमार साह, ३६ वर्षीय सत्रुधन साह र ३४ वर्षीय महेश यादव पक्राउ परेका छन्।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।
पक्राउ परेकाहरुको साथवाट छिन्नमस्ता गाउँपालिका–३ स्थित राजेश्वर साहको अञ्जनी सुन चाँदी पसल तथा अन्य विभिन्न स्थानबाट चोरी गरेको १२ किलो ६ सय ८० ग्राम चाँदीका गरगहना तथा एक थान मोटरसाइकल समेत बरामद भएको डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।
चोरीकै पैसाबाट १ लाख ८८ हजार रुपैयाँमा उक्त मोटरसाइकल खरिद गरेको पक्राउ परेकाहरुले स्विकारेको डिएसपी श्रेष्ठले जानकारी दिए। सुरुङ खन्न तथा ढोका तथा दराजका चाबी र कब्जा फुटाउन प्रयोग गरिने हतियार समेत प्रहरीले बरामद गरेको छ।
यसैगरी गत पुस २ गते उच्च अदालत जनकपुर, राजविराज बेञ्च प्रांगणबाट स ५ प ७२५७ नम्बरको मोटरसाइकल चोरी गर्ने सप्तरीको डाक्नेश्वरी नगरपालिका २ का १९ वर्षीय सन्तोषकुमार यादव पनि पक्राउ परेका छन्।
चोरीमा संलग्न पाँचै जनालाई चोरी मुद्दामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।