काठमाडौं- रोजगारीका लागि मलेसिया पुगेका ५ नेपाली कामदार पक्राउ परेका छन्। मलेसियाको पेनाङस्थित ओभरस्टेमा अवैधानिक रुपमा रहेका ५ नेपाली पक्राउ परेका हुन्।
मलेसियाली सञ्चारमाध्यम 'बनर्मा'का अनुसार सोमबार पक्राउ परेका ३१ जना आप्रवासी कामदारमध्ये ५ नेपाली, १३ थाई, १० बंगलादेशी, २ इन्डोनेसियाली र १ भारतीय छन्। उनीहरुलाई विभिन्न पसल तथा रेष्टुराँहरुबाट पक्राउ गरिएको हो।
मलेसियामा ठूलो संख्यामा नेपाली कामदारहरु अवैधानिक रुपमा रहँदै आएको हुनसक्ने आशंका गरिएको छ।
यसरी नै अवैधानिक रुपमा मलेसियामा रहँदै आएका आप्रवासी कामदारलाई स्वदेश फर्काउन मलेसिया सरकारले आममाफी कार्यक्रम ल्याउन लागेको छ। 'ब्याक फर गुड' कार्यक्रममार्फत अवैध आप्रवासी कामदारलाई स्वदेश फर्किने अवसर प्रदान गरिने भएको हो।
आगामी अगष्ट १ देखि डिसेमब्र ३१ सम्म सञ्चालन हुने उक्त कार्यक्रममार्फत अवैध आप्रवासी कामदार स्वदेश फर्कन पाउने भएका छन्।
सोही कार्यक्रममार्फत नेपाली कामदारहरुलाई स्वदेश फर्किन मलेसिया सरकारलाई ७ सय रिंगेट जरिवाना बुझाउनु पर्ने उल्लेख छ। राहदानी नहुनेहरुले एकतर्फी यात्रा अनुमति पत्रका लागि १ सय ६० रिंगेट तिर्नुपर्ने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।