नवलपरासी- नेपाल-भारत सीमा क्षेत्रबाट अपहरणमा परेका एक भारतीय बालकको सकुशल उद्धार भएको छ।
गत बिहीबार अपहरणमा परेका ७ वर्षीय बालक आयुस निगमलाई नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको संयुक्त विशेष पहलमा सकुशल उद्धार गरिएको हो।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सीमा क्षेत्र भारत उत्तर प्रदेश ठुठीबारीबाट अपहरित आयुसलाई विहार राज्यको वाल्मीकि नगर जंगल क्षेत्रबाट उद्धार गरिएको हो। बालक ठुठीबारीका कपडा व्यवसायी बबलु निगमका छोरा हुन्। अपहरणकारीले बालकको रिहाइका लागि रु एक करोड फिरौती रकम माग गर्दै आएका थिए।
अपहरण गर्नेमध्ये चार जना पक्राउ परेका छन्। उनीहरुमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका रानीनगर निवासी नीरज श्रेष्ठ, भारतको विहार प्रदेश वाल्मीकि नगरका राधव यादव, उत्तर प्रदेश ठुठीबारी निवासी राजेश निगम र सोही ठाउँका सोनु निगम छन्। उनीहरुमाथि अपहरण मुद्दा चलाउने ठुठीबारी कोतवाल बृजनन्दन सिंहले जानकारी दिए।
चारै जना अहिले भारतीय प्रहरीको नियन्त्रणमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।