काठमाडौं– भारतको बाह्य गुप्तचर निकाय रिसर्च एन्ड एनालाइसिस विङ (रअ)मा भर्ना गरेको भन्दै नक्कली नियुक्तिपत्र दिई काठमाडौंका युवालाई ठगी गर्ने ६ जना पक्राउ परेका छन्।
प्रहरीको महानगरीय अपराध महाशाखाले ठगीमा संलग्न मुख्य व्यक्ति सप्तरीका ४१ वर्षीय रमाकान्त चौहान भन्ने रमाकान्त नौनियासहित ६ जनालाई पक्राउ गरेको हो।
दोलखा सुरी गाउँपालिकाका २८ वर्षीय सन्तोष कार्की, ३० वर्षीय विनोद कार्की, काभ्रेको नाग्रे गागर्चेका ४१ वर्षीय पदमबहादुर श्रेष्ठ, रामेछापका २९ वर्षीय चित्रबहादुर श्रेष्ठ र काठमाडौं महाराजगञ्जकी ३२ वर्षीया गीता महर्जनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ। नौनियाले उनीहरुको सहयोगमा करिब ६० जनासँग ३ लाखदेखि ५ लाख रुपैयाँसम्मको रकम ठगेको बताइएको छ।
उनीहरुले मासिक ५० हजार भारु तलब हुनेगरी रअको एजेन्टमा नियुक्त गरेको भन्दै नाटकीय शैलीमा ठगी गरेका थिए।
महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार जागिर लगाइदिएवापत ४ महिनाको तलब आफूलाई दिनुपर्ने भन्दै नौनियाले रकम असुलेका थिए।
नियुक्तिपत्र दिएपछि सूचना संकलनका लागि उनले युवाहरुलाई विभिन्न एरिया तोकेर खटाएका समेत थिए। भारतीय दूतावासकै नक्कली लेटरप्याड बनाएर उनीहरुलाई नियुक्ति दिइएको थियो। पछि उनी सम्पर्क विहिन भएपछि रअको एजेन्टमा नियुक्त भएकाहरु प्रहरीमा पुगेका थिए।
हालसम्म एक दर्जन उजुरी आएको र नौनियाले तीन सयभन्दा बढी व्यक्तिलाई त्यसरी ठगी गरेको देखिएको एसएसपी लोहनीले बताए। अभियुक्त नोनिया वैदेशिक रोजगारीमा कुवेत पुगेर फर्किएका व्यक्ति हुन्।
पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थपेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।