काठमाडौं– युवा संघका नेता दुर्गा तिवारीको हत्याका योजनाकारमध्ये एक अभियुक्त काठमाडौंकै विमानस्थलबाट प्रहरीलाई छक्याएर भाग्न सफल भएको खुलेको छ। शनिबार कतारबाट पक्राउ गरी ल्याइएका तुल बहादुर सिंजाली ‘बाबु’ हत्यापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै बैदेशिक रोजगारीका लागि कतार पुगेका थिए।
अपराधमा फरार रहेका व्यक्तिहरुको सूचि विमानस्थलमा कालोसूचिमा राखिएको हुन्छ। जसअनुसार बिदेश जाने क्रममा सिंजाली सजिलै पक्राउ पर्नुपर्ने हो। तर, प्रहरीले ‘मोष्ट वान्टेड’ सूचिमा राखेका उनी कसरी विमानस्थलबाट बिदेशीए भन्नेमा प्रहरीले छानबिन थालेको छ। पक्राउ पछि सोधपुछ गर्दा उनले कतार जाने क्रममा आफुलाई विमानस्थलमा कसैले नरोेकेको बताएका छन्। उनी मेनपावर कम्पनी मार्फत नै कतार गएका थिए।
बिदेशमा बसेर श्रृङखलाबद्ध हत्या र असुलीको धन्दा चलाउदै आएका गुन्डा नाइके मनोज पुनका प्रमुख सहयोगी हुन सिंजाली। कतारमै बसेर उनले पुनको अपराधिक गतिविधिमा सघाएको हुनसक्ने प्रहरी आशंका छ।
अन्तराष्ट्रिय प्रहरी अपराध संगठन(इन्टरपोल)को सहयोगमा कतारमा दुई साताअघि स्थानीय प्रहरीले उनलाई पक्राउ गरेको थियो। इन्टरपोलकै सहयोगमा डिफ्युजन नोटिस जारी गरी उनलाई पक्राउ गराई नेपाल ल्याउन सफल भइएको प्रहरी प्रवक्ता डिआईजी मनोज न्यौपानले बताए।
कतारको अध्यागमनले अपराधमा संलग्न व्यक्ति भएको भन्दै निष्काशन गरेको थियो। जसक्रममा उनलाई प्रहरीले शनिबार नेपाल फर्किएलगत्तै विमानस्थलबाटै पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइने इन्टरपोल शाखाकी एसपी किरण बज्राचार्यले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।