काठमाडौं– मकवानपुरको भिमफेदी कारागारका भ्रष्टाचारका कारण ग्याङफाइट भएको खुलेको छ। भ्रष्टाचार र ग्याङफाइटमा संलग्न चौकीदार रमेश लामा ‘चाइनिज’ लगायत आन्तरीक प्रशासनमा रहेका कैदी कारबाहीमा परेका छन्। कारागार व्यवस्था विभागले छानबिन गरी उनीहरुलाई त्यहाँबाट हटाएको हो।
विभागले निर्देशक कृष्णप्रसाद आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिको प्रतिवेदनका आधारमा दोषीहरुलाई त्यहाँबाट हटाएर सुधार सुरु गरिएको विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले बताए।
चौकीदार लगायत व्यक्तिले जेलभित्र महंगोमा सामान बिक्रि गर्दै आएको विवादमा कैदीहरुमाथि जेलको आन्तरीक प्रशासनमा रहेका व्यक्तिहरुले कुटपिट गरेका थिए। जसमा चार जना घाइते भएका थिए।
चौकीदार लामा जेलभित्रै प्रशासनलाई प्रभावमा पारी पसलहरु चलाएर पैसा कमाउदै आएका छन्। यसअघि पनि उनी विभिन्न कारागारमा रहदा कारबाहीमा परेर हटाइएका थिए।
छानबिनको क्रममा जेलभित्र पसलमा वास्तविक भन्दा महंगो रेटमा नै सामान बिक्रि हुने गरेको औल्याइएको छ। घटनामा प्रहरीको भूमिका सन्तोषजनक नै देखिएको भन्दै प्रहरीको कमजोरी औल्याइएको छैन।
जेलमा नियमित रुपमा सिडिओ र जेलरले अनुगमन र सोधपुछ नगर्दा समस्याहरु थाहा नहुने र त्यहीकारण बेला बेलामा झडप हुने गरेकाले नियमित रुपमा अनुगमन गर्न सुझाव दिएको छ।
गत पुस ११ गते भिमफेदी कारागारमा दुईपक्षबीच ‘ग्याङफाइट’ भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।