झापा– दर्जनौं युवतीहरुलाई जर्बजस्ती बेश्यावृत्तिमा लगाउदै आएको आरोपमा बिर्तामोडका एक लज संचालक पक्राउ परेका छन्।
झापा कन्काई– ४ घर भई अर्जुनधारास्थित नयाँबसपार्कमा एवान होटल एण्ड लज चलाउने ३८ वर्षीय राज कुमार सिटौलालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो।
उनले युवतीहरुलाई कोठामा बन्धक बनाएर बेश्यावृत्तिमा लगाउदै आएको प्रहरीले जनाएका छ। तीन जना पीडित युवतीहरुले जाहेरी दिएपछि सिटौलालाई पक्राउ गरी मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाइएको इप्रका बिर्तामोडका डिएसपी कृष्ण प्रसाद कोइरालाले बताए।
दिउसो कोठामा, बेलुका होटलमा
युवतीहरुलाई सिटौलाले ग्रामिण क्षेत्रका घरहरुमा बन्धक बनाएर राख्दथे। घरबाट पनि निस्कन नदिई आफुहरुलाई थुनेर राख्ने र बेलुका विभिन्न होटलमा पठाउने गरेको पीडित युवतीहरुले बताएका छन्। ‘एकै दिन १७ जना युवतीहरुलाई उनले बेश्यावृत्तिमा लगाएको समेत खुलेको छ,’ डिएसपी कोइरालाले भने,‘जिल्लाका अन्य होटलहरुमा समेत उनले युवतीहरुलाई पठाउदै आएको बुझिएको छ।’
युवती हराएपछि खुल्यो राज
एक स्थानीय युवती हराएपछि आइतबार उनको दिदी उजुरी गर्न प्रहरीको पुगेकी थिइन्। सोही घटनाको अनुसन्धान गर्दा बेश्यावृत्ति घटनाको जालो खुलेको हो।
त्यसरी हराएकी युवतीलाई उनै सिटौलाले बन्धक बनाएर बेश्यावृत्तिमा लगाएका थिए। त्यसपछि थप पीडित युवतीहरुसमेत प्रहरीमा उजुरी गर्न गएका हुन्। बेश्यावृत्ति धन्दामा युवतीहरुलाई लगाउने एक महिला फरार रहेको प्रहरीले जनाएको छ।
सबै होटलहरु निगरानीमा
बिर्तामोड प्रहरीले बेश्यावृत्ति धन्दा चलाउने अन्य होटलहरुमाथि समेत निगरानी बढाइएको जनाएको छ। गेष्ट हाउस, होटल तथा विभिन्न कटेजहरुमा प्रहरीले निगरानी बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।